‘काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडा कटाइदिनुस्’ रविको चुनौती(भिडियोसहित)

डिसी नेपाल
१८ असोज २०८३ २०:२४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनको बाटो रोज्न नहुने भन्दै निर्वाचनबाटै सरकार फेरबदल गर्नुपर्ने बताएका छन्। लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी कुनै एउटा राजनीतिक दलको मात्र नभएको भन्दै उनले लोकतन्त्र संकटमा परे नेपाली जनताले नै त्यसको रक्षा गर्ने दाबी गरे।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्रको नाममा कुनै दलले आफूलाई यसको एकमात्र संरक्षकका रूपमा प्रस्तुत गर्न नहुने बताए।

‘लोकतन्त्रको यति धेरै दोहाई पनि नदिनुस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्,’ उनले भने।

उनले लोकतन्त्रका विधि, मूल्य र मान्यतालाई कमजोर पार्ने गतिविधिले भने सरकार र देशलाई नै संकटतर्फ लैजान सक्ने चेतावनी दिए। पछिल्लो समय आन्दोलनमार्फत सरकार ढाल्ने चर्चा भइरहेको भन्दै लामिछानेले त्यसतर्फ नजान राजनीतिक दलहरूलाई आग्रह गरे।

‘आन्दोलनबाट सरकार ढाल्नेतर्फ अब नलागौँ। अब चुनावबाट मात्रै सरकार फेरौँ। चुनावले सरकार फेराउँछ,’ उनले स्पष्ट पारे।

लामिछानेले निर्वाचनबाट बनेको सरकार र जनमतलाई अपमान गर्ने गरी निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउन नहुने बताए। निर्वाचनका क्रममा सुरक्षा व्यवस्था गरिएको विषयलाई लिएर नेपाली सेना तथा विदेशी शक्तिको भूमिकामाथि समेत प्रश्न उठाउने गरिएको भन्दै उनले यस्ता संवेदनशील विषयमा हलुका टिप्पणी नगर्न आग्रह गरे।

उनले नेपाली जनताले मतमार्फत दिएको निर्णयलाई सम्मान गर्नुपर्नेमा जोड दिए। निर्वाचनलाई नै गलत भएको दाबी गर्ने वा निर्वाचनबाट प्राप्त जनादेशलाई अन्यथा व्याख्या गर्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने उनको भनाइ थियो।

लामिछानेले आफूहरूले अघिल्लो निर्वाचनका क्रममा जनतासँग गरेको अपिलसमेत स्मरण गरे। नेपाली कांग्रेस र बीपी कोइरालाको विचारप्रति आस्था राख्ने मतदातालाई कांग्रेसलाई एकपटक प्रतिपक्षमा राखेर आफूहरूको काम हेर्न आग्रह गरेको उनले बताए।

‘तपाईं नेपाली कांग्रेसलाई माया गर्नुहुन्छ, तपाईं बीपीलाई माया गर्नुहुन्छ, तपाईं विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी हो भने एकपटक आफ्नो दललाई प्रतिपक्षमा राख्नुस्, दल छोड्न पर्दैन,’ उनले भने।

आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई पराजित गर्न सक्ने भन्दै लामिछानेले जनताको मतलाई नै सरकारको मूल्यांकन गर्ने अन्तिम आधार बनाउनुपर्ने बताए।

‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्,’ उनले भने। लामिछानेले निर्वाचनमार्फत जनताले सरकार बनाउने र आवश्यक परे अर्को निर्वाचनमार्फत सरकार परिवर्तन गर्ने लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *