विश्वप्रकाश शर्माको चिन्ता : समाजमा बढ्दो आक्रोशले सद्भाव र एकतामाथि चुनौती (भिडियोसहित)
डिसी नेपाल
१८ असोज २०८३ २१:००
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाजमा बढ्दै गएको आक्रोश, असन्तोष र आपसी अविश्वासप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले फागुन २१ गतेको निर्वाचनपछि नयाँ उत्साहका साथ सरकार गठन भए पनि समाजमा लामो समयदेखि देखिँदै आएको आवेग र आक्रोशलाई अझै विश्वासमा लिन नसकिएको बताएका हुन्।
उनले पछिल्लो समय सामाजिक सञ्जालमा एकअर्कामाथि निरन्तर प्रहार गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै मानिसहरूबीच रुष्टता र असन्तुष्टि बढ्नु चिन्ताजनक विषय भएको बताए। उनका अनुसार राजनीतिक तथा सामाजिक विषयमा फरक मत हुनु स्वाभाविक भए पनि त्यसले आपसी द्वेष र विभाजनको रूप लिनु हुँदैन।
शर्माले सुनसरीको देवानगन्जमा सामान्य असमझदारीबाट सिर्जना भएको घटनाको प्रसङ्गसमेत उल्लेख गरे। सानो विवादले गम्भीर रूप लिँदा होनहार युवाहरूले ज्यान गुमाउनुपरेको घटना समाजमा बढ्दै गएको असहिष्णुता र आक्रोशको गम्भीर उदाहरण भएको उनको भनाइ थियो।
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय समाज भएको उल्लेख गर्दै शर्माले सामाजिक एकता र सद्भाव कमजोर हुँदै गए त्यसले भविष्यमा थप संकट र दुर्दिन निम्त्याउन सक्ने चेतावनी दिए। उनले फरक विचार, पहिचान र मान्यतालाई सम्मान गर्दै सहअस्तित्वको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
समाजमा उठिरहेका हरेक प्रश्न, असन्तोष र गुनासोलाई बेवास्ता नगरी सुन्ने र त्यसको उचित सम्बोधन गर्ने संस्कार विकास गर्नुपर्ने शर्माले बताए। जनताका असन्तुष्टिलाई केवल विरोधका रूपमा नहेरी त्यसको कारण पहिचान गरेर समाधानतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
महामन्त्री शर्माले नेपाली कांग्रेसले प्रतिपक्षमा रहँदा होस् वा मुलुकका अन्य विषम परिस्थितिमा, जिम्मेवार भूमिका निर्वाह गर्दै आएको दाबी गरे। आगामी दिनमा पनि कांग्रेस सामाजिक सद्भाव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि जिम्मेवार ढंगले अघि बढ्ने उनले बताए।
Facebook Comment