संविधान संशोधन गरौँ, निषेधको राजनीति अन्त्य गरौँ : राजेन्द्र लिङ्देन (भिडियोसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा देखिएको वर्तमान समस्या व्यक्ति वा नेतृत्व परिवर्तन गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन्। उनले समस्या राजनीतिक नेतृत्वमा मात्र नभई विद्यमान संविधान र राजनीतिक प्रणालीमै रहेको भन्दै त्यसमा आवश्यक सुधार र संशोधन गर्नुपर्ने धारणा राखेका छन्।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिङ्देनले पछिल्लो ६ महिनाको राजनीतिक घटनाक्रमले केवल मान्छे परिवर्तन गर्दैमा देशका समस्या समाधान नहुने कुरा स्पष्ट पारेको बताए। उनका अनुसार देशको समस्या व्यक्तिमा मात्र सीमित नभई आफूहरूले उत्कृष्ट भनेर अघि सारेको संविधान र व्यवस्थामा समेत रहेको छ।
‘समस्या मान्छेमा मात्र छैन, तिमीहरूले उत्कृष्ट भनेर ल्याएको व्यवस्था र संविधानमा पनि छ। संविधान गीता, बाइबल वा कुरानजस्तो छुनै नहुने र संशोधन नै गर्न नमिल्ने दस्तावेज होइन,’ लिङ्देनले भने, ‘यसमा रहेका कमजोरी र त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्छ।’
उनले राजनीतिक दलहरूबीच लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई अपेक्षित दिशामा अघि बढाउन नसकेको बताए। विगतमा राजाबाट राजनीतिक दललाई निषेध गर्ने र पछि राजनीतिक दलहरूले राजालाई निषेध गर्ने क्रम चलेको उल्लेख गर्दै उनले दलभित्रै पनि एकअर्कालाई र विभिन्न गुटलाई निषेध गर्ने प्रवृत्ति रहेको बताए।
‘विगतमा राजाले दलहरूलाई निषेध गरे, पछि दलहरूले राजालाई निषेध गरे। दलहरूभित्रै पनि एकअर्कालाई र गुटहरूलाई निषेध गर्ने काम भयो। तर यसको परिणामले देशलाई कहाँ पुर्यायो, हामी सबैले समीक्षा गर्नुपर्छ,’ उनले भने।
सिंहदरबारमा भएको आगजनी तथा पछिल्लो राजनीतिक संकटको प्रसङ्गसमेत जोड्दै लिङ्देनले देश बिग्रँदा त्यसको असर कुनै एउटा दल वा सत्तामा रहेका व्यक्तिलाई मात्र नभई सबै नागरिक र राजनीतिक शक्तिलाई पर्ने बताए। देशमा संकट गहिरिँदै जाँदा एकअर्कालाई दोष दिनेभन्दा राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
लिङ्देनले निषेधको राजनीति त्यागेर संविधान तथा राजनीतिक व्यवस्थामा रहेका कमजोरी सुधार गर्दै अघि बढ्न सबै राजनीतिक दललाई आग्रह गरे। उनले मुलुकको वर्तमान अवस्थाबाट पाठ सिक्दै संविधान संशोधन र राजनीतिक प्रणालीमा आवश्यक सुधारका विषयमा खुला छलफल गर्नुपर्नेमा जोड दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment