कांग्रेस महाधिवेशन: बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक जारी
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा सुरु भएको छ। चियापान र खाजापछि नेताहरू खुलामञ्चमा भेला भएसँगै बैठक सुरु भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
प्रवक्ता चालिसेका अनुसार बन्दसत्रमा पेस गरिने विभिन्न प्रतिवेदनहरूलाई केन्द्रीय कार्यसमितिले स्वीकृत गरेपछि मात्र औपचारिक रूपमा बन्दसत्र सुरु हुनेछ।
“पार्टीले विभिन्न समितिलाई दिएको जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेस गर्नुहुन्छ। सोहीअनुसार बैठकले एजेन्डा अनुमोदन गरेपछि बन्दसत्र बस्नेछ,” उनले भने।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ। बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। बन्दसत्र सम्पन्न भएलगत्तै महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
महाधिवेशन निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। प्रारम्भिक नामावली प्रकाशन भएपछि दाबी-विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्नेछ। प्राप्त दाबी-विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहज रूपमा सहभागी गराउन आवश्यक सम्पूर्ण तयारी तीव्र पारेको छ।
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदहरूमा उम्मेदवारी दर्ता हुनेछ।
उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धाको चित्र थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल तथा समूहगत भेटघाटलाई तीव्र बनाउँदै आएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment