झलनाथ खनालको ‘समाजवादी जागरण अभियान’ द्वारा १५ बुँदे प्रस्ताव जारी
एकीकृत नेकपा निर्माण गर्न आह्वान
काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण अभियान’ को प्रथम भेलाले देशको समसामयिक राजनीति, जनजीविका, विपद् व्यवस्थापन र वामपन्थी आन्दोलनको पुनर्गठनबारे १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।
खनाल नेतृत्वको अभियानलाई पूर्वमन्त्री हरिबोल गजुरेल, वामपन्थी बुद्धिजीवी महेश्वर दाहाललगायतका नेताहरूसहित विभिन्न वामपन्थी समूहका नेता-कार्यकर्ताले साथ दिएका छन्।
देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा फसेको निष्कर्ष निकाल्दै अभियानले विभाजित कम्युनिस्ट शक्तिहरूलाई एकीकृत गरी क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएको छ।
कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू विभाजित हुँदा राष्ट्रिय हित र जनजीविकाका मुद्दा कमजोर बनेको अभियानको ठहर छ। विगतका उपलब्धि, कमजोरी र चुनौतीहरूको गम्भीर समीक्षा गर्दै क्रान्तिकारी वैचारिक-राजनीतिक कार्यदिशाका आधारमा ‘एकीकृत नेकपा’ निर्माणको दिशामा अघि बढ्न सम्पूर्ण कम्युनिस्ट समूहहरूलाई आह्वान गरिएको छ। साथै, ‘नेपाली विशेषताको समाजवाद’ का विषयमा खुला र मैत्रीपूर्ण बहसमा सहभागी हुन अपिल गरिएको छ।
२०८२ भदौ २३ गते भएको जेन्जी (Gen-Z) आन्दोलनका जायज मागहरू तत्काल सम्बोधन गर्न र धरपकडमा परेका युवाहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको छ। साथै, भदौ २४ गते देशका विभिन्न स्थानमा भएका तोडफोड, आगजनी र हिंसात्मक घटनाको निष्पक्ष सत्यतथ्य पत्ता लगाउन ‘न्यायिक आयोग’ गठन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गरिएको छ।
भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीले जलवायुजन्य जोखिम बढाएको भन्दै विपद् प्रतिरोधी विकास नीति लागू गर्न माग गरिएको छ। बाढी-पहिरो प्रभावितहरूको उद्धार, राहत तथा पुनर्वास पारदर्शी बनाउन देश-विदेशबाट प्राप्त रकम र जिन्सी सहयोगको सार्वजनिक लेखापरीक्षण तथा संसदीय निगरानीको व्यवस्था गर्न भनिएको छ। जलवायु जोखिम व्यवस्थापनका लागि नेपाल, भारत र चीनबीच क्षेत्रीय सहकार्यको संरचना बनाउनसमेत प्रस्ताव गरिएको छ।
ट्रेड युनियन अधिकार, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र निजामती कर्मचारीको पेसागत अधिकारमाथि लगाइएका प्रतिबन्धहरू तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरिएको छ। असमान सन्धि-सम्झौताहरूको पुनरावलोकन, वैदेशिक हस्तक्षेपको प्रतिवाद र संविधानले ग्यारेन्टी गरेका नागरिक अधिकारको रक्षा गर्दै गाँस, बास, कपास, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न विशेष कार्यक्रम ल्याउन आह्वान गरिएको छ।




No ads found for this position



डिसी नेपाल
Facebook Comment