दुई घण्टासम्म एआईजी बंशीको के थियो चोलेन्द्रसँग खासखुस?

मदन कोइराला
१९ असोज २०८३ २१:४२

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातिको पक्राउ र त्यसलगत्तै उत्पन्न नयाँ घटनाक्रमले राष्ट्रिय राजनीति र सुरक्षा वृत्त तरंगित बनेको छ।

असोज ११ गते बाँसबारीस्थित आफ्नै निवासबाट पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई भेट्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सरकारले निलम्बन गरेको छ।

नाताले चोलेन्द्रका ज्वाइँ पर्ने एआईजी दाहाल असोज ११ गते बिहान ३ बजे चोलेन्द्रलाई राखिएको अनुसन्धान कार्यालयको कक्षमै पुगेर दुई घण्टासम्म गोप्य कुराकानी गरी बिहान ५ बजे बाहिरिएका थिए।

उच्च स्रोतका अनुसार उक्त समयमा उनीहरूबीच सरकार र विशेष गरी प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध कुराकानी भएको थियो। चोलेन्द्रलाई राखिएको कोठामा भएका गतिविधि र कुराकानी प्रहरीको सीसीटीभी तथा अडियो रेकर्डमा कैद भएपछि सोही प्रमाणका आधारमा दाहालमाथि गृह मन्त्रालयले डन्डा चलाएको हो।

चोलेन्द्र र एआईजी दाहालबीच भएको कुराकानीको रेकर्ड प्रधानमन्त्रीसम्म पुगेपछि उनी विरुद्ध कारवाही गरिएको हो। चोलेन्द्र र एआईजी दहालबीच के के कुराकानी भयो भन्ने विषय त छानविन समितिले बाहिर ल्याउने नै छ।

एआईजी दाहालले राष्ट्रिय सुरक्षा र संगठनका संवेदनशील गोप्य सूचनाहरू बाहिर पठाएर आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा सोमबार बसेको गृह मन्त्रालयको बैठकले घटनाको सूक्ष्म छानबिन गर्न जाँचबुझ अधिकृत तोक्ने निर्णय गरेको छ। तोकिएका जाँचबुझ अधिकृतलाई तीन दिनभित्र छानबिन पूरा गरी मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय तथा निजामती कर्मचारीहरूबाट हुन सक्ने पदीय आचरण विपरीतका गतिविधि, सूचना चुहावट र शान्ति सुरक्षामा असर पार्ने काममाथि कडा निगरानी भइरहेको जनाएको छ। गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भनेका छन्, “कानुन विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई बिनाछुट प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।”

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र पक्राउको मुख्य कारण अझैसम्म सार्वजनिक नभएको अवस्थामा उच्च तहका बहालवाला सुरक्षा अधिकारी नै निलम्बनमा परेपछि यो प्रकरण थप रहस्यमय र पेचिलो बनेको छ।

यो पनि पढ्नुस्

संवेदनशील सूचना चुहाएको अभियोगमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *