नारायणगढ बजार जोगाउन उद्योगी व्यवसायीको माग, रवि लामिछानेसँग गरे छलफल

डिसी नेपाल
२० असोज २०८३ ९:३८

चितवन। नारायणी नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै चितवनका उद्योगी व्यवसायीले नदी नियन्त्रण तथा बजार संरक्षणका लागि तत्काल आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्।

उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन र नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार नदी कटान तथा बाढीका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै तत्काल प्राविधिक अध्ययन गरी आवश्यक संरक्षणका काम अघि बढाउन माग गरिएको छ। व्यवसायीहरूले नदीको कटानको अवस्था, हाल निर्माण भएका तटबन्धको अवस्था तथा आगामी दिनमा हुन सक्ने सम्भावित जोखिमको अध्ययनका लागि सम्बन्धित सरकारी निकायबाट प्राविधिक टोली तत्काल खटाउन आग्रह गरेका छन्।

टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापनका लागि वैज्ञानिक र प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिँदै नदी नियन्त्रणसँगै नारायणगढ बजार तथा आसपासका बस्ती र व्यापारिक क्षेत्रलाई सुरक्षित बनाउन आवश्यक कदम चाल्न लामिछानेको ध्यानाकर्षण गराएको अध्यक्ष सुवेदीले बताए।

भेटका क्रममा व्यवसायीहरूको माग सुनेपछि लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययन गराउने र अध्ययनको निष्कर्षका आधारमा प्रभावकारी तटबन्धन निर्माण तथा नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाएको सुवेदीले जानकारी दिए।

लामिछानेले छिट्टै प्राविधिक टोली पठाएर नारायणी नदीको अवस्था अध्ययन गरी आवश्यक काम अघि बढाउने आश्वासन दिएको सुवेदीले बताए।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले लामिछानेलाई भेटेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *