कांग्रेस सहमहामन्त्रीमा डिल्लीराम सुवेदीको उम्मेदवारी

डिसी नेपाल
२० असोज २०८३ १३:३०

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता एवं गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनमा सहमहामन्त्री (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले आफ्नो उम्मेदवारीलाई नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’का रूपमा अघि सारेका छन्।

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका सुवेदी काठमाडौँ शिक्षा क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजक बनेका थिए।

२०७९ को प्रदेशसभा निर्वाचनमा बागलुङ–१(२) बाट निर्वाचित उनी तेस्रोपटक महाधिवेशन प्रतिनिधि बनेका हुन्। संगठन निर्माणका साथै उनी पार्टीभित्र अध्ययन, लेखन र वैचारिक बहसमा रुचि राख्ने अध्ययनशील नेताका रूपमा परिचित छन्।

सभापति गगनकुमार थापासँगको सहलेखनमा ‘नेपाली कांग्रेस र संविधानसभा’ नामक पुस्तक लेखेका सुवेदीले कांग्रेसका ऐतिहासिक दस्तावेज सङ्कलन एवं सम्पादन र ‘विचार विशेष’ जस्ता वैचारिक प्रकाशनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

गण्डकी प्रदेशसभामा बजेटका टुक्रे आयोजना र पहुँचका आधारमा योजना छनोट हुने प्रवृत्तिका विरुद्धमा पनि उनले निरन्तर आवाज उठाउँदै आएका छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुवेदीले कांग्रेस अहिले पुस्तान्तरणको चरणमा रहेको बताए। नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको लामो राजनीतिक अनुभवबीच द्वन्द्व नभई समन्वय आवश्यक रहेको बताउँदै उनले विचार, संगठन र नेतृत्वबीच समन्वय कायम गर्न आफूले सहमहामन्त्रीमा दाबी पेस गरेको स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *