विचारको सिर्जनशील व्याख्या र युवा नेतृत्वको दाबीसहित महामन्त्रीमा शंकर तिवारीको मनोनयन
काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत युवा नेता एवं राजनीतिक विश्लेषक शंकर तिवारीले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। मङ्गलबार राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन समितिको कार्यालय पुगेर उनले महामन्त्री पदका लागि औपचारिक मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै तिवारीले भने, “नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदका लागि विधिवत् रूपमा मनोनयन दर्ता गरेको छु। अब यहाँहरूको झन् ठूलो साथ, सद्भाव र सहयोगको आशा गरेको छु।”
यसअघि आइतबार बिहान काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच तिवारीले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस विचारको रक्षा, सिर्जनशील व्याख्या र पार्टी रूपान्तरणका लागि महामन्त्रीमा लड्ने घोषणा गरेका थिए।
अघिल्लो १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चर्चामा आएका उनले यसपटक भने पदाधिकारी तहमा आफ्नो सशक्त दाबी पेस गरेका हुन्।
अध्ययन, लेखन तथा राजनीतिक विश्लेषकका रूपमा समेत परिचित तिवारी विद्यार्थी राजनीतिदेखि नै पार्टी सभापति गगनकुमार थापानिकट रहेर काम गर्दै आएका छन्।
वैचारिक मन्थन र नीति निर्माणका क्षेत्रमा सभापति थापासँग निरन्तर सहकार्य गर्दै आएका उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसको साङ्गठनिक संरचनालाई चुस्त-दुरुस्त बनाउँदै पार्टीलाई तल्लो तहदेखि दूरदराजका जनतासँग जोड्नुपर्नेमा जोड दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment