रास्वपाको जालझेलमा कुलमान! (भिडियोसहित)
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको १२ दिने अल्पकालीन एकता प्रक्रिया भङ्ग हुनुका पछाडि ठूलो राजनीतिक षड्यन्त्र रहेको दाबी गर्दै त्यसलाई ‘राजनीतिक अपराध’को संज्ञा दिएका छन्।
पार्टीको आन्तरिक छलफलबाट रास्वपासँग एकता गर्न जानु नै गम्भीर भूल भएको निष्कर्ष निकालिएको बताउँदै उनले सहमति कार्यान्वयनको चरणमै पुग्न नदिई रास्वपा नेतृत्वले एकतर्फी रूपमा तोडेको स्पष्ट पारेका छन्।
सार्वजनिक वक्तव्य दिँदै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले ठूला पद र मागहरूको बार्गेनिङ गरेका कारण एकता तोडिएको भनी सामाजिक सञ्जालमा फैलाइएका हल्लाहरूलाई पूर्ण रूपमा निराधार भनेका छन्। “हामीले कुनै पद वा मागको सौदाबाजी गरेका थिएनौँ। एकता पश्चात् पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्दै अगाडि बढ्ने हाम्रो सोच थियो, तर रास्वपा नेतृत्वले १२ औँ दिनमा बिना कुनै औपचारिक छलफल एकतर्फी रूपमा सम्झौता तोड्यो,” घिसिङले भने।
रास्वपाले कुन चुनौती वा कारणले एकता भङ्ग गर्यो भन्नेबारे आजसम्म कुनै आधिकारिक स्पष्टीकरण नदिएको र केवल सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने काम मात्र गरेको आरोप उनले लगाए।
यस एकतर्फी निर्णयका कारण आसन्न निर्वाचन प्रक्रियामा पार्टीले व्यहोर्नुपरेको जटिल प्राविधिक तथा राजनीतिक क्षतिको विवरण समेत उनले सार्वजनिक गरे। सहमति अनुसार उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फका आफ्ना उम्मेदवारहरूको सूची फिर्ता लिइसकेकाले एकता भङ्ग भएपछि उनीहरू उम्मेदवारविहीन बनेका थिए।
जसका कारण बाध्य भएर बाँसुरी चुनाव चिन्ह भएको राष्ट्रिय परिवर्तन पार्टीसँग सहकार्य गरी समानुपातिकतर्फ ‘बाँसुरी’ र प्रत्यक्षतर्फ ‘चिल’ चिन्हमा मत माग्नुपर्ने विषम परिस्थिति निर्माण भएको घिसिङको भनाइ छ। यो सम्पूर्ण घटनाक्रम उज्यालो नेपाल पार्टीको राजनीतिक अस्तित्व समाप्त पार्ने नियतले रचिएको सुनियोजित षड्यन्त्र भएको ठहर अध्यक्ष घिसिङले गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment