यमनमा द्वन्द्व तीव्र, सरकारी सेनाद्वारा महत्त्वपूर्ण क्षेत्र नियन्त्रणमा लिएको घोषणा
काठमाडौं । साउदी अरब समर्थित यमनी सरकारी सेनाले ताइज प्रान्तमा पकड मजबुत बनाएको दाबी गर्दै मोचा सहर आफ्नो नियन्त्रणमा आएको घोषणा गरेको छ।
सुरक्षा निकायका अनुसार बाब अल-मन्दब जलडमरूमध्य नजिकैका धेरै महत्त्वपूर्ण स्थानहरू पनि कब्जामा लिइएको छ।
यसैबिच, हुती विद्रोहीहरूले साउदी अरबभित्रका धेरै स्थानहरूलाई निशाना बनाएर नयाँ आक्रमणहरू गरेको दाबी गरेका छन्।
बीबीसी न्युज अरबीका अनुसार, साउदी नेतृत्वको गठबन्धनले हुती विद्रोहीका अखडाहरूमा हवाई आक्रमण तीव्र पारिरहेका बेला यो नयाँ घटनाक्रम बाहिर आएको हो।
यमनको अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सरकारले हालै ‘यमन डन’ नामबाट ठुलो परिमाणमा सैन्य अभियान सुरु गरेको छ। यस अभियानको उद्देश्य सरकारी निकायहरूलाई पुनः स्थापित गर्नु, हुतीहरूले हालै कब्जामा लिएका भूभागहरू फिर्ता लिनु र हुती विद्रोहलाई अन्त्य गर्नु रहेको छ।
साउदी नेतृत्वको गठबन्धनले पनि यस सैन्य अभियानमा सहभागी हुने घोषणा गरेको छ। गठबन्धनले सोमबार हुतीका अखडाहरूमा हवाई आक्रमणहरू गरेको थियो। गठबन्धनका प्रवक्ताका अनुसार यी आक्रमणहरूमा करिब १०० वटा लडाकु विमानहरूले भाग लिएका थिए र हुतीका ३२४ वटा ठिकानाहरूलाई निशाना बनाइएको थियो।
ताइज प्रान्त र यसको वरपर जारी द्वन्द्वमा पछिल्लो २४ घण्टाभित्र ७० जनाभन्दा बढी मानिसको मृत्यु भएको खबर छ। द्वन्द्वमा संलग्न दुवै पक्षका स्रोतहरूले मृतकको सङ्ख्याको पुष्टि गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment