कांग्रेस महाधिवेशनमा मत माग्ने शैली : रोबोटदेखि बाँदरको डमीसम्म

मनिषा बस्नेत
२० असोज २०८३ २१:३३
12
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा राजनीतिक छलफलसँगै नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरू अहिले प्रतिनिधिसँग मत माग्न विभिन्न शैली अपनाइरहेका छन्।

महाधिवेशनस्थलमा उम्मेदवारहरू प्रविधिदेखि परम्परागत शैलीसम्मका प्रचार सामग्री प्रयोग गरेर मत मागिरहेका छन्। कोही रोबोटमार्फत मत मागिरहेका छन् भने कोही कार्ड बाँड्दै र समर्थकहरू पम्प्लेट भिरेर प्रतिनिधिसँग मत माग्दै हिँडिरहेका देखिन्छन्।

केन्द्रीय सदस्य पदका उम्मेदवार नवराज त्रिपाठीले मत माग्न रोबोटको प्रयोग गरेका छन्। नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहेका इन्जिनियरसमेत रहेका त्रिपाठीले प्रविधिको प्रयोग गर्दै मंगलबार बिहान महाधिवेशनस्थलमा चुनावी प्रचार गरेका हुन्। उनको रोबोट हेर्न तथा प्रचार सामग्री लिन महाधिवेशन प्रतिनिधिहरूको भिडसमेत देखिएको थियो।

यस्तै, सह–महामन्त्री पदका उम्मेदवार डिल्लीराम सुवेदीले बाँदरको डमीमार्फत मत मागेका छन्। उनको प्रचारशैलीप्रति पनि महाधिवेशन प्रतिनिधिहरू आकर्षित देखिएका छन्।

कांग्रेसले पार्टीलाई डिजिटल प्रणालीमा लैजाने बताउँदै आए पनि महाधिवेशनमा उम्मेदवारहरूले भने प्रविधिसँगै परम्परागत शैलीलाई समेत निरन्तरता दिएका छन्।

प्रचारशैलीबारे खसआर्यतर्फका सह–महामन्त्री उम्मेदवार जगदिश्वरनरसिंह केसीले व्यक्तिगत भेटघाटसँगै सामाजिक सञ्जाल र एसएमएसलाई पनि प्रचारको महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गरिएको बताए।

केसीले भने, ‘मत माग्ने भनेको यहाँ जति महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ, व्यक्तिसँग भेटेर मत मागेजस्तो राम्रो अरू केही होइन। तर व्यक्तिसँग भेट्न नसक्दा सामाजिक सञ्जाल र एसएमएसमार्फत पनि ‘म फलानो पदको उम्मेदवार हुँ, मेरो नाम जगदीश्वर नरसिंह केसी हो’ भनेर प्रचार गरिन्छ। एउटा एसएमएसमा हुन्छ, एउटा सामाजिक सञ्जालमा हुन्छ र अर्को व्यक्तिगत भेटघाटमा हुन्छ।’

उनले पछिल्लो समय सामाजिक सञ्जाल चुनावी प्रचारको महत्वपूर्ण माध्यम बनेको बताए।

कांग्रेसले क्रियाशील सदस्यदेखि पार्टीका अन्य प्रक्रिया डिजिटल प्रणालीमा लैजाने प्रयास गरे पनि १४औँ महाधिवेशनका लागि तयार गरिएको क्रियाशील सदस्यताको प्रणालीलाई नै निरन्तरता दिने निर्णय भएपछि पूर्ण रूपमा डिजिटल प्रणालीमा जान नसकिएको केसीले बताए।

उनका अनुसार करिब ५ लाख क्रियाशील सदस्यलाई डिजिटल प्रणालीमा जोड्ने प्रयास गरिएको थियो। आगामी दिनमा भने पार्टीका क्रियाशील सदस्यदेखि सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीमा लैजानुपर्ने उनको भनाइ छ।

‘भोट माग्दा विभिन्न सिस्टम अपनाइएको छ। डिजिटल सिस्टममा पनि छ। अहिलेको अवस्थामा प्रयोग हुन सक्ने सबै प्रक्रिया छन्। अझै योभन्दा बढी प्रविधिमैत्री बनाउनुपर्छ भन्नेमा हामी लागिरहेका छौँ,’ उनले भने।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *