कांग्रेस महाधिवेशन : उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले तोकिएको कार्यतालिका अनुसार दर्ता भएका उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको हो।
विधानअनुसार पार्टीमा सभापति (१), वरिष्ठ उपसभापति (१), उपसभापति (४), महामन्त्री (३), सहमहामन्त्री (१५) र कोषाध्यक्ष (१) गरी कुल २४ जना पदाधिकारी रहने व्यवस्था रहेको छ।
तीमध्ये सहमहामन्त्री पदमा चार जना र कोषाध्यक्ष पदमा एक जना गरी पाँच पदाधिकारी सभापतिबाट मनोनीत हुने प्रावधान छ। यसअनुसार बाँकी रहेका १९ निर्वाचित पदाधिकारी पदका लागि कुल ७९ जनाको मनोनयन दर्ता भएको छ।
सभापति पदमा तीन जनाको प्रतिस्पर्धा
पार्टीको सर्वोच्च पद सभापतिका लागि तीन जना मैदानमा उत्रिएका छन्। सभापति पदका लागि वर्तमान महामन्त्री गगनकुमार थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका हुन्।
वरिष्ठ र महिला उपसभापतिमा एकल उम्मेदवारी
नेपाली कांग्रेसको संशोधित विधानमा वरिष्ठ उपसभापति १, महिला उपसभापति १, समावेशी उपसभापति १ र खुला उपसभापति २ गरी चार उपसभापति निर्वाचित हुने व्यवस्था छ।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्र एकल उम्मेदवारी परेको छ। त्यस्तै, महिला क्लस्टरको उपसभापति पदमा पुष्पा भुसालको मात्र मनोनयन परेको छ। दुवै पदमा एकल उम्मेदवारी परेकाले शर्मा र भुसाल दुवै जना निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।
अन्य पदाधिकारी र खुला/समावेशी पदहरू
खुलातर्फको दुई उपसभापति पदका लागि नौ जना र समावेशी उपसभापतिमा पाँच जनाको उम्मेदवारी परेको छ। त्यस्तै, खुला दुई महामन्त्रीका लागि आठ जना र महिला महामन्त्रीको एक पदका लागि तीन जना मैदानमा छन्।
सहमहामन्त्रीका विभिन्न ११ निर्वाचित पदका लागि खसआर्य, मधेसी, दलित, जनजाति, थारु, मुस्लिम, महिला, पिछडिएको क्षेत्र लगायतका क्लस्टरमा उत्साहजनक मनोनयन दर्ता भएको छ।
दाबी-विरोधको समय
सार्वजनिक गरिएको प्रथम नामावलीमा कुनै दाबी, विरोध वा आपत्ति भएमा प्रक्रियासम्मत छानबिनका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ। दाबी-विरोध र आवश्यक छानबिन समाप्त भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरी मतदान प्रक्रिया अगाडि बढाउने जनाएको छ।
सूची-
No ads found for this position



डिसी नेपाल
Facebook Comment