पशुपतिनाथ मन्दिर प्रवेश गरेको आरोपमा इटहरीबाट अन्सारी दम्पती पक्राउ

डिसी नेपाल
२१ असोज २०८३ ११:१५
68
Shares

काठमाडौं । गैरहिन्दू भएर पनि पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र उनका श्रीमान् ओसीम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका परियार र अन्सारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौँस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ।

पशुपति मन्दिर परिसरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा व्यापक चर्चामा आएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रेम विवाह गरेका ओसीम र प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिर पुगेर एक भिडियो बनाएका थिए।

उनीहरूले निर्माण गरेको भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएको थियो। सोही टोपीका आधारमा सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्।

सांसदले नै मन्दिरको मर्यादा र नियममाथि प्रश्न उठाएपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएको थियो।

यसैबिच, अन्सारी दम्पतीले मङ्गलबार नै एक भिडियो सार्वजनिक गर्दै स्पष्टीकरण दिएका थिए। स्पष्टीकरणका क्रममा उनीहरूले आफूहरू मूल ढोकाबाट भित्र छिरे तापनि मुख्य मन्दिरभित्र पस्न नपाएको र भर्‍याङबाटै फर्काइएको दाबी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *