गगन थापासँगको संवादपछि मिनेन्द्र रिजालद्वारा उपसभापतिको उम्मेदवारी फिर्ता लिने घोषणा
काठमाडाैं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापति पदमा मनोनयन दर्ता गराएका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।
मंगबार मनोनयन दर्ता गराएपछि पार्टी सभापति गगनकुमार थापासँग भएको विशेष भेटवार्ता र गहन संवादपछि डा. रिजाल उम्मेदवारी फिर्ता लिँदै थापा नेतृत्वको प्यानललाई सहयोग गर्न तयार भएका हुन्।
भेटका क्रममा सभापति थापाले डा. रिजालको लामो राजनीतिक अनुभव, ज्ञान र बौद्धिक क्षमतालाई पार्टीको आगामी दिशा तय गर्न र नयाँ पुस्तासँग जोड्ने ‘पुल’का रूपमा उपयोग गर्न चाहेको बताएका थिए।
थापाले रिजाललाई पदाधिकारीको होडबाजीमा नलागी पार्टीभित्रै रहेर सहकार्य गर्न आग्रह गर्दै उनको अनुभव र ज्ञानको साथ आवश्यक रहेको उल्लेख गरेका थिए। साथै, पार्टीमा योगदान गर्न पदाधिकारीकै पद अनिवार्य नहुने वातावरण बनाउने प्रतिबद्धतासमेत थापाले व्यक्त गरेका थिए।
सभापति थापाको प्रस्तावप्रति सकारात्मक बन्दै डा. रिजालले आफू पदका लागि नभई कांग्रेसलाई पुनः बलियो बनाउने उद्देश्यले मैदानमा उत्रिएको स्पष्ट पारेका थिए। थापाको नेतृत्वबाटै पार्टीको रूपान्तरण सम्भव रहेको भन्दै उनले आफूले कुनै पदको मोलमोलाइ नगरी सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
डा. रिजालले केन्द्रीय समितिमा पद खोजिरहने आफ्नो यात्रा समाप्त भएको घोषणा गर्दै निर्वाचन कार्यतालिका अनुसार औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने बताएका छन्। उनले आफ्नो एउटै ध्येय ‘कांग्रेसको आत्मा फर्काउने’ रहेको उल्लेख गर्दै अब पार्टीभित्र गगन थापाको नेतृत्वलाई नै सशक्त रूपमा सहयोग गर्ने स्पष्ट पारेका छन्।
यसअघि मङ्गलवार खुला उपसभापतिका दुई पदका लागि डा. मिनेन्द्र रिजालसहित ९ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारमाथि दाबी-विरोध र औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएसँगै रिजालको यो कदमले कांग्रेसको महाधिवेशनमा नयाँ चुनावी समीकरण सिर्जना गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment