प्रशिक्षकले दुई पटक वाचा तोडेको रोनाल्डोको आरोप, सन्न्यास नलिने तर सजाय भोग्न तयार

डिसी नेपाल
२१ असोज २०८३ ९:५७
20
Shares

काठमाडाैं। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको प्रस्ट पारेका छन्।

मुख्य प्रशिक्षक जोर्जे जेसुससँगको असमझदारीपछि टोलीको प्रशिक्षण शिविर छाडेका रोनाल्डोले आफू अझै पनि देशका लागि खेल्न, प्रतिस्पर्धा गर्न र उपाधि जित्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन्।

साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

शारीरिक रूपमा फिट भएसम्म राष्ट्रिय टोलीका लागि उपलब्ध हुने बताउँदै उनले लेखेका छन्, “मैले निलम्बनसम्बन्धी सम्भावित सजाय भोगिसकेपछि राष्ट्रिय टोलीका लागि उपलब्ध हुनेछु। आजसम्म जस्तै आगामी दिनमा पनि देशका लागि प्रतिस्पर्धा गर्न र जित्न चाहन्छु।”

प्रशिक्षकमाथि वाचा तोडेको गम्भीर आरोप

युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलका क्रममा विवाद सुरु भएको रोनाल्डोको भनाइ छ। मध्यान्तरदेखि नै वार्मअप गरेर मैदान प्रवेशको प्रतीक्षा गरे पनि प्रशिक्षकले अन्तिम समयसम्म मैदानमा नउतारेको उनले बताएका छन्। “प्रशिक्षकले मसँग गरेको वाचा तोडे,” रोनाल्डोले भनेका छन्।

यसअघि साउदी क्लब अल नासरमा पनि सँगै काम गरिसकेका रोनाल्डो र जेसुसबीच देखिएको विवाद सुल्झाउन साउदी प्रो लिगका खेल निर्देशक सिमाओ काउटिन्होको उपस्थितिमा छलफल भएको थियो।

रोनाल्डोका अनुसार उक्त छलफलमा प्रशिक्षक जेसुसले सार्वजनिक रूपमा घटनाबारे स्पष्टीकरण दिने सहमति भएको थियो र त्यसका लागि आठ बुँदाको योजनासमेत तयार पारिएको थियो।

तर, प्रशिक्षकले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति सहमतिअनुसार नभएको रोनाल्डोको आरोप छ। प्रशिक्षकले दोस्रो पटक पनि आफ्नो वाचा तोडेपछि थप आश्वासनको पर्खाइमा नबसी आफूले प्रशिक्षण शिविर छाड्ने निर्णय गरेको उनले खुलाएका छन्।

यता प्रशिक्षक जेसुसले भने रोनाल्डोसँग त्यस्तो कुनै सहमति नभएको दाबी गरेका छन्। यद्यपि, उनले रोनाल्डोका लागि राष्ट्रिय टोलीको ढोका भने अझै खुला नै रहेको सङ्केत गरेका छन्।

समर्थकसँग माफी र सजाय भोग्न तयार

प्रशिक्षण शिविर छाडेको घटनाप्रति रोनाल्डोले आफ्ना टोलीका सहकर्मी र पोर्चुगिज जनतासँग माफी मागेका छन्। साथै, पोर्चुगल फुटबल महासंघले आफूलाई दिने जुनसुकै सजाय स्वीकार्न आफू तयार रहेको पनि उनले स्पष्ट पारेका छन्।

आफ्नो बिदाइ खेलबारे भइरहेको चर्चाबारे बोल्दै उनले भनेका छन्, “मेरा समर्थक र विशेष गरी पोर्चुगिज जनतालाई वाचा गर्न सक्छु, हाम्रो बिदाइ खेल हुनेछ— एक वा त्योभन्दा बढी खेल पनि हुन सक्छन्, त्यसका लागि समय छ। तर अहिले मेरो ध्यान बिदाइमा होइन, प्रतिस्पर्धा गर्नेमै छ।”

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनको यो पछिल्लो अभिव्यक्तिले तत्कालका लागि अन्तर्राष्ट्रिय करियर समाप्त हुने अडकलबाजीलाई विराम दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *