‘टीयूको नक्कल गर्न नयाँ विश्वविद्यालय किन चाहियो?’ शिक्षामन्त्री पोखरेल (भिडियोसहित)
डिसी नेपाल
२१ असोज २०८३ १४:१४
8
Shares
काठमाडौं — शिक्षामन्त्री सस्मित पोखरेलले देशका विश्वविद्यालयहरू त्रिभुवन विश्वविद्यालय (टीयू) को नक्कल वा छायाजस्तो भएर सञ्चालन हुन नहुने बताएका छन्।
उनले विगतमा संस्थाको विकासलाई धेरै विषय सञ्चालन गर्ने, संगठन तथा संरचना विस्तार गर्ने र विद्यार्थी संख्या बढाउने आधारमा मात्रै मूल्यांकन गर्ने गलत परिपाटी रहेको बताए।
मन्त्री पोखरेलका अनुसार यही सोचका कारण नयाँ विश्वविद्यालयहरूले पनि आफ्नै विशिष्ट पहिचान र उद्देश्य बनाउन नसकी टीयूले सञ्चालन गर्दै आएका कार्यक्रमकै पुनरावृत्ति गरिरहेका छन्।
“अहिले संघीय सरकारअन्तर्गत १५ वटा विश्वविद्यालय छन्। ती सबैको आ–आफ्नै स्पष्ट दृष्टिकोण र विशिष्ट मौलिकता हुनुपर्छ,” उनले भने, “यदि सबै विश्वविद्यालयमा टीयूले जे पढाइरहेको छ, त्यही पढाउने र सबैले इन्जिनियरिङ तथा विज्ञान नै पढाउने हो भने बाँकी १४ वटा विश्वविद्यालय खोलिराख्न आवश्यक थिएन।”
उनले नयाँ विश्वविद्यालय स्थापनाको उद्देश्य नै फरक र विशिष्ट हुनुपर्ने बताए। एउटै प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने हो भने टीयूका आंगिक, सामुदायिक तथा सम्बन्धन प्राप्त कलेज विस्तार गरे पुग्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले अब विश्वविद्यालयहरूले आफ्नो क्षेत्र, क्षमता र उद्देश्यअनुसार फरक तथा विशिष्ट कार्यक्रम सञ्चालन गर्दै छुट्टै पहिचान निर्माण गर्नुपर्नेमा जोड दिए।
Facebook Comment