पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न शिक्षा मन्त्रालयले बनायो समिति

डिसी नेपाल
२३ असोज २०८३ १९:५७
16
Shares

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका–२८ मा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ।

दुर्घटनामा बालबालिकासहित पाँच जनाको मृत्यु भएपछि मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका कार्यालय प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवार, अभिभावक तथा विद्यालय परिवारप्रति समवेदना प्रकट गरेको छ।

दुर्घटनामा घाइते भएका विद्यार्थी तथा अन्य व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मन्त्रालयले उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाएको छ। घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताल तथा निकायसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ।

यसैबीच, भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन मन्त्रालयले विद्यालयका यातायात साधन र चालकको नियमित अनुगमन तथा प्राविधिक जाँचलाई अनिवार्य र प्रभावकारी बनाउने विषयमा अध्ययन सुरु गरेको छ।

मन्त्रालयले विद्यालयका बस र चालकको नियमित अनुगमनका लागि आवश्यक मापदण्ड तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। हरेक बालबालिकाको सुरक्षित आवागमन सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

यस दुर्घटनामा चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *