बिनिता खड्का पक्राउबारे गगन थापाको कडा टिप्पणी: व्यक्तिको गल्ती र दागको भारी पार्टीले बोक्दैन

डिसी नेपाल
२४ असोज २०८३ १६:५०
184
Shares

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले वैदेशिक रोजगारीको लोभ देखाई ठगी गरेको आरोपमा पार्टीकी केन्द्रीय सदस्यकी उम्मेदवार बिनिता खड्का पक्राउ परेको विषयमा कडा प्रतिक्रिया दिएका छन्। उनले कुनै पनि व्यक्तिले गरेको गैरकानुनी कामको जिम्मेवारी स्वयम् सोही व्यक्तिले नै लिनुपर्ने र त्यसको दाग पार्टीले नबोक्ने स्पष्ट पारेका हुन्।

१५औँ महाधिवेशनमा खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी खड्कालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर साढे २ करोड रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महाधिवेशन स्थल (राष्ट्रिय सभागृह) नजिकैबाट नियन्त्रणमा लिएको थियो।

नेपाल सरकार र इजरायल सरकारबीच  सम्झौताअनुसार केयरगिभरको परीक्षा उत्तीर्ण गरी ‘होल्ड’मा रहेका परीक्षार्थीहरूलाई मन्त्रिपरिषद्बाटै निर्णय गराएर इजरायल पठाइदिने भन्दै रकम असुलिएको प्रहरी अनुसन्धानमा खुलेको छ। यस प्रकरणमा रामेछापका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईंसहित अन्य चार जना आरोपीहरूसमेत यसअघि नै पक्राउ परिसकेका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति थापाले कांग्रेस भ्रष्टाचारप्रति शून्य सहनशीलता (Zero Tolerance) र पूर्ण रूपमा कानुनी शासनको पक्षमा रहेको बताए। महाधिवेशनमा प्रतिस्पर्धा गरेकी एक नेतृ ठगी र सङ्गठित अपराधको गम्भीर मुद्दामा पक्राउ परेको प्रसङ्ग उल्लेख गर्दै उनले कानुनविपरीत काम गर्ने व्यक्तिले त्यसको कानुनी परिणाम आफैँ सामना गर्नुपर्ने धारणा राखे।

“कुनै पनि व्यक्तिले गलत वा गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ, पार्टीले बोक्दैन। कुनै व्यक्तिलाई लागेको दाग हो भने त्यो व्यक्ति आफैँले मेट्नुपर्छ, पार्टीले त्यो दागको भारी बोक्दैन,” सभापति थापाले भने।

थापाले व्यक्तिगत स्वार्थका लागि गरिने कुनै पनि गलत र गैरकानुनी कार्यमा संलग्न व्यक्तिलाई कांग्रेसले कहिल्यै संरक्षण नगर्ने र कानुनले सबैका लागि समान रूपमा काम गर्ने दोहोर्‍याए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *