शंकर पोखरेलसँग सम्बन्ध बिग्रिएको चर्चामा सत्यता छैन: ओली
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्ध बिग्रिएको र दरार आएको भन्दै बाहिर चलेका चर्चालाई पूर्ण रूपमा निराधार र कपोलकल्पित भन्दै खारेज गरेका छन्।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पार्टीको शीर्ष नेतृत्व तहमा कुनै पनि किसिमको मनमुटाव वा असमझदारी नरहेको स्पष्ट पारे।
पछिल्ला केही दिनयता एमालेभित्र पार्टी सञ्चालन र आन्तरिक विषयहरूलाई लिएर अध्यक्ष ओली र महासचिव पोखरेलबीच दूरी बढेको, संवादसमेत टुटेको र फोनसमेत नउठाएको भन्दै राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका थिए। बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्ता हल्लाहरूमा रत्तिभर सत्यता नरहेको बताए।
अध्यक्ष ओलीलाई उद्धृत गर्दै सञ्चारकर्मीहरूले सोधेको जिज्ञासामा उनले भने, “बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो, तर यस्ता भ्रामक कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन। उहाँसँग मेरो कुनै मनमुटाव छैन। फोन नउठेको वा व्यस्त भएको सानो कुरालाई मात्रै आधार बनाएर शीर्ष नेतृत्वको सम्बन्धमै समस्या आयो भन्न मिल्दैन। पार्टीभित्र राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन।”
यसैबीच, एमालेभित्र केही समयदेखि पार्टी सङ्गठन सुदृढीकरण, कार्यभार बाँडफाँट र पुनर्गठनका विषयमा आन्तरिक छलफलहरू भइरहेका छन्। अध्यक्ष ओलीले पार्टी सञ्चालन, भावी कार्ययोजना तथा नीतिगत विषयहरूमा शीर्ष नेतृत्वबीच निरन्तर, सौहार्दपूर्ण र गहन समन्वय कायमै रहेको जानकारी दिए।
उम्मेदवार चयन, तल्ला कमिटीका अधिवेशन र आगामी निर्वाचनको तयारीमा जुटिरहेको एमालेभित्र भ्रम सिर्जना गर्ने नियतले यस्ता अनावश्यक हल्ला फैलाइएको भन्दै पार्टी पंक्तिलाई यस्ता भ्रममा नपर्नसमेत नेताहरूले आग्रह गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment