एमालेको स्थायी कमिटी बैठकले के-के निर्णय गर्यो ?
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको प्रथम बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यही असोज २२ गतेदेखि तीनदिनसम्म चलेको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरुका अधिवेशन, राष्ट्रिय भेलाको आयोजना लगायत निर्णय गरेको छ। बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट बरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन्।
बैठकले गरेका निर्णयहरु यस प्रकार छन्ः
१. पार्टीका वडास्तरका कमिटीहरुको अधिवेशन आगामी मङ्सिर २६ गते सम्पन्न गर्ने।
२. नगर र गाउँपालिका तहका कमिटीहरुको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने।
३. आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने। राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरुको सहभागिता रहने छ।
४. पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने।
५. बैठकले मधेश प्रदेश सभामा पार्टीका सभासद जैनब खातुनको निधन भएको हुँदा समानुपातिकतर्फको उक्त रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ।
६. बैठकले पार्टीका अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ।
७. बैठकले देहाय बमोजिम १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ। मनोनयन हुनेहरुमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment