आख्यान क्षेत्रमा उदाए पत्रकार यज्ञराज जोशी, ‘बैसाखी’ मा अंकित भुइँमान्छेका कथा
काठमाडौं। युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ कथासङ्ग्रह एक समारोहबीच औपचारिक रूपमा लोकार्पण गरिएको छ।
शनिबार राजधानी काठमाडौँमा आयोजित विशेष पुस्तक लोकार्पण समारोहमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी र ‘बैसाखी’ का सम्पादक समेत रहेका समालोचक सुभाषचन्द्र भण्डारीले संयुक्त रूपमा उक्त कृतिको विमोचन गरेका हुन्।
समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्राडा महादेव अवस्थीले लेखक जोशीमा उच्च स्तरको सिर्जनात्मक प्रतिभा रहेको बताए।
“पत्रकारिता क्षेत्रबाट आएका लेखकहरूका शब्दमा विशेष शक्ति हुन्छ। जोशीमा पनि सिर्जनात्मक प्रतिभा, बलियो इच्छाशक्ति र लोकपरिवेशमूलक निपुणता छ। उहाँको लेखनमा नौलो आलंकारिकता पाइन्छ,” प्राडा अवस्थीले भने। यद्यपि, कथाका शैलीहरू काव्यात्मक बन्दा कथानकमा क्षति पुग्न सक्ने र लेखक बहकिएर जाने जोखिम रहनेतर्फ सचेत रहन उनले सुझाव दिए।
यसैगरी, पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै समीक्षक ज्ञानु अधिकारीले ‘बैसाखी’ मा समाजका सीमान्तकृत तथा भुइँमान्छेहरूको इतिहास र संघर्षका कथाहरू सङ्ग्रहित रहेको औँल्याइन्। उनले कृतिका कथामा नारीवादी मनोविज्ञानसमेत सशक्त रूपमा प्रस्तुत गरिएको बताइन्।
“लेखक जोशीले माटोका वास्तविक कथा लेख्नुभएको छ। यसमा महिलाका आँशु र पीडाका पाटा छन् भने निरिह पारिएका पात्रहरूलाई नायकका रूपमा उभ्याइएको छ,” उनले भनिन्। पुस्तकका पात्रहरूले झैँ समाजका सबै पुरुषले महिलालाई आदर र सम्मान गर्ने हो भने यो संसार अत्यन्त सुन्दर बन्ने मनोभाव कथा पढ्दा पैदा हुने उनको भनाइ थियो।
पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले नयाँ पुस्ताको मनोभावलाई गहिरोसँग उतार्न सफल भएकोमा कृतिकार जोशीलाई बधाई दिए। जोशीको लेखनीमा आधुनिक कथाशिल्प र बाल्यकालदेखिका गाउँपरिवेशका घटनाहरू मिहिन रूपमा आएको बताउँदै उनले कतिपय कथामा वास्तविक पात्रहरूको अनुमति लिएर नयाँ प्रयोगसमेत गरिएको उल्लेख गरे।
समारोहमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. टीएन जोशीले दुई दशकदेखि लेखक जोशीको साहित्यिक सक्रियतालाई नजिकबाट नियालेको स्मरण गरे। सुदूर भूमिको कठिन संघर्षबाट अगाडि बढेका जोशीले भुइँमान्छेकै रूपमा भुइँमान्छेका पीडादायी कथा लेख्न सफल भएकोमा उनले खुसी व्यक्त गरे। त्यस्तै, प्राध्यापक माधव नेपालले ७ वर्षसम्म प्रतीक्षा गरेर र निरन्तर मिहिनेत गरेर जोशीले ‘बैसाखी’ जस्तो उत्कृष्ट कृति बजारमा ल्याएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र नेपाली जनसम्पर्क समितिका अमेरिकाका पूर्वसभापति आनन्द विष्टले पनि लेखक जोशीको सुस्वभाव, सिर्जनात्मक क्षमता र संघर्षको प्रशंसा गर्दै साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गरे।
कृतिकार यज्ञराज जोशीले आफ्नी आमाले दुई दशकअघि भारतमा रहेका बुबालाई चिट्ठी लेख्न लगाउने र त्यसको अन्त्यमा देउडा जोड्ने गरेको स्मरण गर्दै आफू त्यही प्रेरणाबाट साहित्यिक क्षेत्रतर्फ आकर्षित भएको बताए। “आजको दिनसम्म आइपुग्दा त्यही प्रेरणाले ‘बैसाखी’ को रूप लिएको छ। अब पाठकहरूबाट आउने सुझावलाई अमूल्य निधि मानेर अगाडि बढ्नेछु,” उनले भने।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पैडेलले ऊर्जावान युवा लेखक जोशीको कृति प्रकाशन गर्न पाउँदा खुसी व्यक्त गर्दै लोकार्पणअघि नै बजारमा पुस्तकको माग उच्च भइसकेको जानकारी दिए। पत्रकार दीपक जोशीले सहजीकरण गरेको उक्त कार्यक्रममा विमोचित ‘बैसाखी’ कथासङ्ग्रहको बजार मूल्य ५९५ रुपैयाँ रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment