अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

डिसी नेपाल
२५ असोज २०८३ १५:३१
8
Shares

अर्घाखाँची। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरास्थित सन्धिखर्क–तम्घास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

बल्कोटबाट सन्धिखर्कतर्फ रोलर बोकेर जाँदै गरेको लु.४ त ७९१७ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको लु.७२ प २०६३ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो।

दुर्घटनामा ट्याक्टरले च्यापिएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमडीका करिब २२ वर्षीय सहचालक गणेश रास्कोटी मगर गम्भीर घाइते भएका थिए। उनलाई जेसीबीको सहायताले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याइएकोमा चिकित्सकले दिउँसो १२ः१० बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २६ वर्षीय पुण्यप्रसाद थारु घाइते भएका छन्। उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको छ।

मोटरसाइकल चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल रहेका छन्। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान गरेको छ। प्रारम्भिक विवरणअनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र नभएको उल्लेख छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *