नेकपाका प्रदेश कमिटी सदस्य बोहराले त्यागे पार्टी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन्।
डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले मुख्यमन्त्री खगराज भट्टमाथि बिचौलिया र कमिसनको प्रवृत्तिलाई प्रश्रय दिएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत साधारण सदस्यतासमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन्।
मुख्यमन्त्री भट्टकै गृहजिल्ला तथा निर्वाचन क्षेत्रसँग जोडिएका क्षेत्रका सर्वसाधारणको आवश्यकताभन्दा बिचौलियाको स्वार्थअनुकूल योजना छनोट गरिएको आरोप बोहराले लगाएका छन्। स्थानीय जनताको माग र आवश्यकताअनुसारका योजना बजेटमा समावेश गराउन आफूहरू पटक-पटक मुख्यमन्त्रीकहाँ पुगे पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ।
आफ्नै क्षेत्रको सांसद मुख्यमन्त्री बनेपछि विकास निर्माणले गति लिने अपेक्षा गरिए पनि बजेट विनियोजनमा बिचौलियाको हालीमुहाली देखिएकाले यस्तो कमिसनतन्त्र भएको पार्टीमा बसिरहनु औचित्यहीन ठानेर राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै बोहराले अर्को पोस्टमार्फत बजेट विनियोजनले जनताको आवश्यकता र पार्टीको वर्गीय उद्देश्यलाई पूर्णतः उपेक्षा गरेको दाबी गरेका छन्। पार्टीभित्र आर्थिक हैसियत र पहुँच भएका व्यक्तिहरूको प्रभाव बढ्दै गएको भन्दै उनले प्रदेश कमिटीमा चाँडै औपचारिक राजीनामापत्र बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रस्तुत गरेको बजेटलाई लिएर डडेल्धुरा विशेष गरी निर्वाचन क्षेत्र नम्बर १ (क) मा असन्तुष्टि चुलिएको छ। योजना छनोट र बजेट विनियोजनलाई लिएर सर्वसाधारणका साथै सत्तारूढ दलकै सांसद तथा मन्त्रीहरूसमेत असन्तुष्ट बनेपछि सुदूरपश्चिमको राजनीतिमा तरंग पैदा भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment