विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बैंकक प्रस्थान
काठमाडौं। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन्। अर्थमन्त्री वाग्ले उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक प्रस्थान गरेका हुन्।
विश्वभरका अर्थमन्त्रीहरू, केन्द्रीय बैंकका गभर्नरहरू तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने उक्त महत्वपूर्ण वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
ती बैठकहरूमा नेपालको वर्तमान आर्थिक अवस्था, अन्तर्राष्ट्रिय वित्तीय सहकार्य, वैदेशिक लगानी अभिवृद्धि तथा नेपालका प्राथमिकता प्राप्त विकास आयोजनाहरूका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्रीको टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई सहभागी छन्।
विभिन्न द्विपक्षीय भेटघाट र बहुपक्षीय छलफलका कार्यक्रमहरू सम्पन्न गरी अर्थमन्त्री वाग्ले नेतृत्वको टोली आगामी कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment