निर्माताको रोजाईमा किन पर्छ दशैं ?

डिसी नेपाल
२९ असोज २०८३ १७:५९
4
Shares

काठमाडौं । नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा प्रायः दशैं पर्ने गर्छ। लामो बिदा हुने भएकाले पनि यो समयमा अधिकतर फिल्मकर्मी आफ्ना फिल्महरू प्रदर्शन गर्ने तयारीमा जुटेका हुन्छन्। केही वर्ष अगाडिसम्म दशैंको बिदामा केवल १ वा २ वटा फिल्म मात्र प्रदर्शन हुने गर्दथे।

तर, वि.सं. २०८१ देखि भने यो सङ्ख्या बढेर तीनदेखि चारसम्म पुगेको छ। यो सङ्ख्या घरेलु अर्थात् नेपाली फिल्मको मात्र हो। यदि विदेशी फिल्महरूलाई पनि जोड्ने हो भने दशैंको समयमा दर्शकले न्यूनतम सात वटासम्म फिल्म हेर्न पाउने विकल्प (च्वाइस) पाउँछन्।

राम्रा र ठूला बजेट तथा व्याकरणका फिल्महरू एकआपसमा जुध्दा दर्शक बाँडिनु स्वाभाविक नै मानिन्छ। प्रायः दर्शकले कुनै एउटा फिल्म हेर्ने योजना बनाएका हुन्छन्, जसले गर्दा सबै फिल्मको सोचेजस्तो अपेक्षित व्यापार नहुन पनि सक्ने बताइन्छ।

यो वर्षको दशैंलाई लक्षित गर्दै तीन वटा नेपाली फिल्महरू प्रदर्शन हुँदैछन्। दर्शकले मन पराएर घरेलु बजारमा १० करोडभन्दा बढीको कलेक्सन गरेपछि ती फिल्मका निर्माताहरूले बिदाको समयमा बढी दर्शक पाइने लोभले दशैंलाई नै लक्षित गरेको पाइन्छ।

यसपटक दशैंलाई लक्षित गर्दै आगामी असोज ३० गतेदेखि ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शन हुँदैछन् भने असोज ३१ गतेदेखि ‘छ माया छपक्कै २’ प्रदर्शनको तयारीमा छ। यी सबै फिल्मका अघिल्ला भागहरू घरेलु बजारमा निकै सफल रहेका थिए।

आखिर निर्माताहरूको पहिलो रोजाईमा दशैं नै किन पर्छ त? यसबारेमा अभिनेता, लेखक तथा निर्माता दीपकराज गिरी चाडपर्वको समयमा फिल्म हेर्ने विशेष माहोल हुने भएकाले नै आफ्ना फिल्महरू दशैंमा ल्याउने गरेको बताउँछन्।

“हामीले आफ्ना फिल्महरू प्रायः दशैंमै ल्याउने गरेका छौँ। किनकी हाम्रो फिल्म हेर्न पूरै परिवार नै आउनुहुन्छ, त्यसैले पनि फिल्म बनेपछि दशैंलाई नै लक्षित गरेर प्रदर्शनमा ल्याउने गरेका छौँ,” अभिनेता गिरीले भने।

त्यसो त उनको पहिलो निर्माण रहेको फिल्म ‘६ एकान ६’ माघे सङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शन भएको थियो। त्यस समयमा पनि फिल्मले राम्रो व्यापार गरेको थियो। तर, अन्य सामान्य समयको तुलनामा दसैँमा फिल्म हेर्ने दर्शकको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएपछि अभिनेता गिरी दशैंको रिलिज डेट छाड्न तयार छैनन्।

उनी फिल्म तयार भएपछि पहिलो प्राथमिकता दशैंलाई नै दिने गर्छन्। वि.सं. २०८१ को दशैंमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ ले अनपेक्षित रूपमा बम्पर व्यापार गरेपछि अभिनेता तथा निर्देशक विराज भट्ट यसको सिक्वेल ‘१२ गाउँ २’ आगामी असोज ३० गते ल्याउँदैछन्।

‘१२ गाउँ’ ले घरेलु बजारमा झन्डै २० करोडको ग्रस कमाइ गरेको थियो। सोही सफलताका कारण यसको सिक्वेललाई पनि दशैंमै ल्याउने अडानमा अभिनेता भट्ट रहेका थिए।

नेपाली फिल्म क्षेत्रमा लामो समय एक्सन स्टारको छवि बनाएका अभिनेता भट्टले नेपालीसँगै भोजपुरी भाषाका फिल्महरूमा पनि अभिनय गरेका थिए। भोजपुरी फिल्महरूको दर्शक घट्न थालेपछि उनी नेपाल फर्किएर पुनः नेपाली सिनेमामा सक्रिय भएका हुन्।

यद्यपि, उनको कमब्याक भने सुरुमा सोचेजस्तो सुखद हुन सकेको थिएन। किनकि उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म ‘साङ्गलो’ ले अपेक्षाकृत सफलता हासिल गर्न सकेन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *