कांग्रेस १५औं महाधिवेशन: एक सातामा सकियो मतगणना, दशैंलगत्तै गगन थापा टिमको शपथग्रहण

डिसी नेपाल
३० असोज २०८३ ११:०८
28
Shares

काठमाडाैं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको चुनावको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। मधेश र बागमती प्रदेशको अन्तिम नतिजा आएसँगै गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना प्रक्रिया पूर्ण रूपमा सकिएको हो।

निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनका लागि भएको ऐतिहासिक प्रतिस्पर्धाबाट गगनकुमार थापा भारी मतान्तरका साथ सभापतिमा निर्वाचित भइसकेका छन्।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा तथा उपसभापतिहरूमा डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य, पुष्पा भुसाल र विनोद चौधरी विजयी भएका छन्। यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित भइसकेका छन्।

लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडित कोटाका केन्द्रीय सदस्यहरूको गणना बिहीबार राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

त्यसैगरी सहमहामन्त्रीका साथै खस-आर्य र थारू कोटाका खुला तथा महिला केन्द्रीय सदस्यहरूको गणना पनि राति अबेर टुंगिएको उनले बताए। हाल सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेकाले केही बेरमा औपचारिक रूपमा अन्तिम नतिजा घोषणा गर्ने तयारी भइरहेको छ।

गत असोज २३ गते मतदान सकिएलगत्तै राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना थालिएको थियो, जसको नतिजा २४ गते बिहानै सार्वजनिक भएको थियो। त्यसपछि बाँकी पदहरूको मतगणना भने ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपीनगरमा गराइएको थियो।

१४ औं महाधिवेशनमा ४ हजार ७०० मतदाताको मत गन्न १२ दिन लागेकोमा यस पटक ७ हजार ३९२ मतदाता र झण्डै १ लाख ६२ हजार मतपत्रको गणना २४ भन्दा बढी समूह बनाएर दिनरात खटिएका कारण एकै हप्तामा सकिएको निर्वाचन समितिले जनाएको छ।

अघिल्लो महाधिवेशनको तुलनामा दोब्बरभन्दा छिटो र सौहार्दपूर्ण वातावरणमा मतगणना सम्पन्न भएको निर्वाचन समितिले दाबी गरेको छ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम भने दशैँलगत्तै आयोजना गरिने तयारी छ। शपथग्रहणलगत्तै बस्ने नयाँ कार्यसमितिको पहिलो बैठकबाटै आगामी स्थानीय तहको निर्वाचनको खाका र रणनीति तय गरिने नेताहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *