देश अन्योल र अलमलको अवस्थामा रहेको पूर्वराजा शाहको टिप्पणी
काठमाडाैं। पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैँ (विजया दशमी) २०८३ को शुभ अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयद्वारा जारी शुभकामना सन्देशमा उनले प्राकृतिक प्रकोपको दुःख र पीडाका बीच पनि नेपालीहरूले आफ्ना चाडपर्व र संस्कृति धान्नुपरेको उल्लेख गरेका छन्।
भदौमा भोटेकोशीमा आएको भीषण बाढी र असोजको अविरल वर्षाका साथै बुढीगण्डकीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले प्रकृति नबिथोलिने गरी सन्तुलन र संरक्षणको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।
पूर्वराजा शाहले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकहरूको शीघ्र पुनस्थापनालाई प्राथमिकता दिन आग्रह गरे। बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्परा जोगाउन कूटनीतिक चातुर्य अपनाउनुपर्ने उनको भनाइ थियो।
देशको वर्तमान राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक र प्रशासनिक क्षेत्र अन्योलको अवस्थामा रहेको भन्दै उनले प्रजातान्त्रिक विधिलाई सुदृढ गर्दै भूराजनीतिक स्थितिमा राष्ट्रियता र मौलिक मूल्यलाई दृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।
साथै, राज्य सञ्चालनमा आएको नयाँ पुस्ताले देशवासीको मुहारमा खुसी ल्याउने आशा व्यक्त गर्दै उनले विभाजित नभई एकताबद्ध र आत्मनिर्भर नेपाल निर्माणका लागि आह्वान गरे।
शुभकामना सन्देश-
प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरु,
सदा झैं यस बर्ष पनि नेपालको सनातनी परम्परा र संस्कृति अनुरुप सत्य, सदाचार तथा मर्यादाका निम्ति मनाइने बडा दशैं हामी नेपालीको घर आंगनमा आइपुगेको छ ।
विभिन्न आरोह अवरोहहरु देख्दै, भोग्दै, सहँदै अनि सम्हालिदै आएका हामी नेपालीहरु प्राकृतिक प्रकोपको दुःख र पीडा कै बिचमा पनि आफ्ना चाडपर्व, धर्म, संस्कृति तथा रितिरिवाज धान्नु पर्ने अवस्थामा उभिएका छौं ।
यो बर्षको बर्षादकाल पनि हाम्रा निम्ति सुखद रहेन। भदौ दश गते भोटेकोशीमा पसेको भिषण बाढीले बिभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा र यही असोजमा परेको अविरल बर्षा तथा दशैंको मुखैमा आएको बुढीगण्डकी बाढीका कारण जनधनको अपार क्षति हामीले भोग्नु पर्यो ।
प्रकृतिका नियमहरु न्यायसंगत छन् तर भयानक पनि । त्यहाँ कुनै कमजोर, करुणा हुँदैन । कारण र परिणामहरु अलग गर्न सकिदैन र अनिवार्य छन् । प्रकृति आफैमा एक नियमित र नियामक शक्ति हो , यसको गति स्वभाविक हुन्छ ।
त्यही तात्यूक र तार्किक सत्यलाई स्वीकार गरेर हामीले प्रकृति नबिथोलिने गरी सन्तुलन र संरक्षणको नीति अबलम्बन गर्नु पर्दछ । यसबाट आउने दुःख, बाढा र पीडालाई न्यूनिकरण गर्न हामी सबैले पूर्व तयारी र सावधानीका साथ सही शक्ति र सद्बुद्धिको प्रयोग गर्न सक्नु पर्दछ ।
शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै जीवनको यात्रा तय गर्नु पर्ने हाम्रो बाध्यता रहेको तथ्य सर्वविदित नै छ । जनताको पीडा नै सिङ्गो देश र राज्यको पनि साझा पीडा हो भन्ने मान्यताको जगमा उभिएको हाम्रो भूमिका आगामी दिनहरुमा पनि नेपाल र नेपालीको पक्षमा नै रही रहनेछ ।
क्षतिग्रस्त भएका भौतिक संरचनाहरुको पुननिर्माण तथा पीडित नागरिकहरुको शीघ्रातिशीघ्र यथोचित पुर्नस्थापनाको कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नु पर्ने अहिलेको आवश्यकता हो । तर यस किसिमको कार्यमा बाह्य सहयोग लिंदा देशको स्वाभिमान, स्थानीय परम्परा जोगिने गरि कूटनैतिक चार्तुयता अपनाउनु पर्ने हुन्छ ।
नेपाल केबल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो । देशको कठिन समयमा एक अर्कामा भाइचारा कायम राख्नु, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थ भन्दा माथि राख्नु नै साँचो देशभक्ति हुन्छ ।
यतिखेर हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेकोछ । हाम्रो राजनीतिक, सम्बैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यवसायिक क्षेत्र अन्यौेल र अलमलको अवस्थामा किन देखिन्छ ।
हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ ।
यी सबैलाई सच्याएर, मिलाएर, प्रजातान्त्रिक विधि प्रकृयालाई सुदृढ पार्दै विद्यमान विश्व परिवेश र भूराजनीतिको स्थितिमा हाम्रो राष्ट्रियता तथा मौलिक मुल्यलाई दृढ पार्नु जरुरी छ । जोश जाँगर बोकेर राज्य संचालनमा खडा भएको नवपुस्ताले देशवासीको मुहार हँसिलो रसिलो पार्छ भन्ने अभिलाषा राखिएको छ ।
नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना अझ बलियो बन्दै जावोस् । विभाजित होइन, एकताबद्ध नेपाल, परनिर्भर होइन आत्मनिर्भर नेपाल, कमजोर होइन सबल र सक्षम नेपाल निर्माण गर्ने सोच हामी सबैमा जागृत होस् ।
असत्य माथि सत्यको अनि आशुर्य शक्ति माथि दैवी शक्तिको बिजयको उल्लासको रुपमा मनाईने दशैंका अवसरमा शक्तिकी प्रतिक श्री नवदुर्गा भवानीले हामीलाई सत्य, न्याय र शक्तिको मार्गमा हिड्ने सत्बुद्धि प्रदान गरुन् ।
जय नेपाल ! सम्बाद सचिबालय
निर्मल निवास
No ads found for this position



डिसी नेपाल
Facebook Comment