सेती नदीमा निर्माणाधीन दुई पक्की पुलको ७० प्रतिशत काम सम्पन्न, फागुन २१ सम्म सक्ने लक्ष्य
तनहुँ । सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको निर्माण कार्य ७० प्रतिशत पूरा भएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गमा रहेका पुराना पुलको दायाँ र बायाँतर्फ निर्माण भइरहेका नयाँ पुल आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पुरानो पुलको अपस्ट्रिम र डाउनस्ट्रिमतर्फ निर्माण भइरहेका दुवै पुल १९० मिटर लम्बाइका छन् । यी पुल निर्माणका लागि २०७९ भदौ २६ गते एक अर्ब सात करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ । निर्माणका क्रममा देखिएका मुख्य अवरोध हटिसकेकाले निर्धारित समयभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको उनले बताए ।
उनका अनुसार घरटहराको मुआब्जालगायत समस्या समाधान भइसकेका छन् । सम्बन्धित व्यक्तिले मुआब्जा रकमसमेत बुझिसकेकाले पुल निर्माणलाई तीव्रता दिन सहज भएको छ ।
निर्माण कम्पनीका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सम्पन्न भइसकेको छ भने चारवटा टावर (पाइलन) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब मुख्य रूपमा स्टे केबलमा तनाव दिने (स्ट्रेसिङ) कार्यमा ध्यान केन्द्रित गरिएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिलाई ठेक्का दिइएको थियो । तर, निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो । हाल थपिएको म्याद आगामी फागुन २१ गतेसम्म कायम छ ।
आयोजना प्रमुख कुँवरका अनुसार चीनबाट आवश्यक जनशक्ति ल्याउनुपर्ने, चिनियाँ कामदारबाट इन्जिनियरिङ बाहेकका काम गराउन कठिन हुने अवस्था तथा निर्माण सामग्री आयातमा भएको ढिलाइले काम प्रभावित भएको थियो । खानेपानीका पाइप स्थानान्तरण गर्नुपर्दा पनि निर्माणमा समय लागेको उनले बताए ।
त्यस्तै, सेती नदीको उत्तरी भागमा सडक पहुँच व्यवस्थापन, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी समस्याले पनि निर्माण कार्यमा अवरोध सिर्जना गरेको थियो । एसियाली विकास बैंकको नीतिअनुसार सम्बन्धित जग्गाधनी तथा व्यवसायीलाई सडक पहुँच उपलब्ध गराउनुपर्ने भएपछि दुईवटा घरसमेत भत्काउनुपरेको थियो ।
मुआब्जाको विषयमा सहमति जुट्न नसक्दा केही समय निर्माण प्रभावित भएको थियो । प्रशासनले निर्धारण गरेको रकमप्रति असन्तुष्टि जनाउँदै जग्गाधनीले रकम बुझ्न नमानेपछि समस्या लम्बिएको थियो । लामो प्रयासपछि सहमति जुटेसँगै अहिले पुलको माथिल्लो भागमा समेत काम गर्न सहज भएको आयोजना प्रमुख कुँवरले बताए ।
विसं २०३२ मा निर्माण गरिएको पुरानो पुल साँघुरो भएपछि त्यसको दायाँ र बायाँतर्फ थप एक–एकवटा पक्की पुल निर्माण थालिएको हो । नयाँ पुल निर्माण सम्पन्न भएपछि पृथ्वीराजमार्गअन्तर्गत उक्त खण्डमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment