के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?

डिसी नेपाल
१ कार्तिक २०८३ १०:५३
4
Shares

काठमाडौं । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ ।

हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको सप्तमी तिथि (फूलपाती) को दिन आयोजना हुने समारोहमा विभिन्न किसिमले बढाइँ गर्ने प्रचलन छ । नेपाली सेनाले काठमाडौंको ऐतिहासिक सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गोरखा दरबारबाट ल्याइएको फूलपाती वसन्तपुर दरबारस्थित दशैं घरमा भित्र्याउँदैछ ।

उक्त फूलपाती बढाइँका क्रममा नेपाली सेनाले राइफलद्वारा सयौं राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौँ तोप पड्काएर चर्को आवाजसहित बढाइँ गर्ने गर्दछ ।

यसरी निस्कने तोप तथा विष्फोटको चर्को आवाजले गर्दा आकाशमा उडिरहेका निर्दोष चराचुरुङ्गीहरूको भने ज्यान नै जानसक्ने पन्छी संरक्षणकर्मी रमेश चौधरी बताउँछन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा चौधरीले तोप, पटका तथा मानव–सिर्जित चर्को आवाजले चराहरूमा तत्कालीन र दीर्घकालीन दुवै प्रकारका गम्भीर क्षति पुर्‍याउने बताउँछन् ।

संरक्षणकर्मी चौधरीले भने, ‘एक त उनीहरूको ब्रेन ह्यामरेज हुने अथवा कमजोर मुटु भएकाहरूको मुटु नै फुटेर मर्ने सम्भावना हुन्छ । चर्को आवाजका कारण चराहरू तर्सिएर तल खस्छन्। उनीहरूको सुन्ने क्षमताभन्दा बढी आवाज भयो भने नलागे पनि चराहरू भुइँमा खस्छन् । हामीले मानवकेन्द्रित भएर मात्र सोचिरहेका छौँ, पन्छी संरक्षणको हिसाबले यो वातावरणमैत्री होइन ।’

यस्तो चर्को ध्वनिका कारण चराहरूको प्रजनन प्रक्रिया र उडान मार्गमा समेत नराम्रो असर पर्ने गर्दछ । विशेषगरी बसाइँसराइ गर्ने चराहरूले ताराको स्थिति, प्राकृतिक ल्यान्डमार्क र पृथ्वीको चुम्बकीय क्षेत्रको सहारा लिएर पुस्तौँदेखि हिँडिरहेको बाटो प्रयोग गर्ने गर्छन्, तर अचानकको ठूलो आवाजले उनीहरूमा दिशाविहीनता निम्त्याउँने चौधरीको भनाइ छ ।

आफ्‌नो दिशा पत्ता लगाउन नसक्दा चराहरू बाटो बिराएर हराउने, उनीहरूको नियमित बासस्थान छुट्ने, बोली परिवर्तन हुने र अन्डा पारेको भए ती अन्डाहरू नष्ट भएर अन्ततः लोप हुने खतरा रहने चौधरीको भनाइ छ ।

विभिन्न अध्ययनहरुका अनुसार कोलाहल र ध्वनी प्रदूषणका कारण प्राणी प्रजातिको व्यवहार परिवर्तन मात्र होइन चराहरूले सबैभन्दा ठूलो समस्या भोगिरहेका छन् । त्यस्तै प्रजननमा नकारात्मक असर पर्नुका साथै ध्वनि प्रदूषणका कारण चराहरुमा मिलन, बच्चा हुर्काउन र खाना खोज्न समेत समस्या हुने गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *