३० एमबीपीएस घरघरमा फाइबर इन्टरनेट अफरबारे भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह

डिसी नेपाल
१ कार्तिक २०८३ १०:३४
384
Shares

काठमाडौं। नेपाल टेलिकमले हालै सञ्चालनमा ल्याएको रु. ४,९९९ बराबरको ३० प्रतिसेकेन्ड मेगाबिट्स (एमबीपीएस) क्षमताको घरघरमा फाइबर इन्टरनेट अफरका सम्बन्धमा आएका भ्रामक र तथ्यहीन समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण, जमलले असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले अनुमति पत्रको सर्तविपरीत काम गरेको भन्दै जारी गरेको विज्ञप्तिलाई आधार बनाएर कतिपय सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित तथा प्रसारित भएको टेलिकमले स्पष्ट पारेको छ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कम्पनीले विगतदेखि नै निरन्तर सञ्चालन गर्ने सुविधाहरूको स्वीकृतिका लागि नियमअनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको छ। असोज ३० गते विशेष सुविधाका रूपमा सञ्चालनमा ल्याइएको उक्त अफरका बारेमा पनि प्राधिकरणलाई पूर्वजानकारी गराइसकिएको टेलिकमले जनाएको छ।

साथै, उक्त अफर यसअघि नै विद्यार्थी लक्षित अफरका रूपमा प्राधिकरणलाई जानकारी गराएर सञ्चालनमा ल्याइसकिएको समेत विज्ञप्तिमा उल्लेख छ।

नेपाल टेलिकमले सरकारको स्वीकृत नीति तथा विद्यमान कानुनको परिधिभित्र रहेर मात्र सेवा सञ्चालन गरिरहेको र कानुनको पूर्ण पालनामा सधैँ प्रतिबद्ध रहेको दोहोर्‍याएको छ। तसर्थ, ३० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट अफर र यसको स्वीकृतिबारे फैलाइएका कुनै पनि भ्रममा नपर्न कम्पनीले सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *