सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन्।
आज शपथग्रहणपछि सम्बोधन गर्दै थापाले आगामी दिनमा आफूले गर्ने निर्णय, सार्वजनिक रूपमा निर्वाह गर्ने भूमिका तथा सत्य र न्यायको पक्षमा उभिने व्यवहारबाट आफ्नो प्रतिबद्धताको परीक्षण हुने बताए।
‘अबको अगाडिको यात्रा मेरो कर्मबाट हुन्छ। मंैले निर्णय कसरी गर्छु, सार्वजनिक बहसमा कसरी प्रस्तुत हुन्छु र न्यायको पक्षमा कसरी उभिन्छु भन्ने कुराले मेरो परीक्षण हुनेछ,’ उनले भने।
कठिन समयमा आफूले कस्तो निर्णय लिन्छु र अप्ठ्यारो परिस्थितिमा सत्य तथा न्यायको पक्षमा उभिन सक्छु कि सक्दिनँ भन्ने कुराले नै आफ्नो प्रतिबद्धता प्रमाणित गर्ने उनको भनाइ थियो।
सभापतिको जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै थापाले यससँग धेरै विषय जोडिएर आउने बताए। उनले सभापतिको पदलाई अहंकारको श्रीपेचका रूपमा नलिएको स्पष्ट पारे।
‘यो जिम्मेवारीले मलाई नागरिकहरूप्रतिको दायित्व पूरा गर्नका लागि जमिनमै उभ्याएको छ। यसले मलाई अहंकारको श्रीपेच लगाइदिएको होइन,’ उनले भने।
थापाले नेपाली कांग्रेससँग लोकतन्त्रको ठूलो विरासत जोडिएको उल्लेख गर्दै उक्त विरासतको संरक्षण गर्नु पनि आफ्नो जिम्मेवारी भएको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment