स्मृतिको क्यानभासमा दशैं
आज आगतको उज्यालोमा उभिएर विगतको धमिलो गल्लीगल्छेडातिर स्वाट्ट फर्केर हेर्दा लाग्छ- बडादशैँसँग गाँसिएका ती सुरभित दिनहरू धेरै टाढा पुगिसकेका छन्। धेरै पुराना र सम्झनाको क्यानभासमा रङ्गहीन भइसकेका छन्।
समयको अविराम बहावले कति धेरै सम्झनाहरू बगाएर लगिसकेछ! बाल्यकालका ती चञ्चलता, फुर्सदिला समय र निष्फिक्री उमेरका छायाहरू धमिलिँदै गएका छन्। तर, समयले जतिसुकै पुरानो पारेर माकुरोको जालोमा जेलेर राखे तापनि स्मृतिको सन्दुकभित्र कतै ती सुगन्धित परागहरू अझै मुस्कुराइरहेका भेटिन्छन्।
तिनलाई स्पर्श गर्नासाथ म आफूलाई फेरि त्यही निष्पाप बाल्यकालको न्यानो काखमा भेट्टाउँछु– जहाँ जीवन कति सरल थियो, मन कति उन्मुक्त थियो र सानातिना कुरामै असीम खुसी भेटिने कत्रो विशाल ठाउँ थियो!
वर्ष दिनको प्रतीक्षाको महान् पर्व बडादशैँ! विद्यालयको नियमित अनुशासनबाट मुक्ति मिल्ने र आफ्ना रहरहरूलाई उन्मुक्त पखेटा हाल्न पाइने त्यो समय मेरा लागि साँच्चै विशेष हुन्थ्यो। दशैँ आउनुअघि नै गाउँघरको हावामा एउटा छुट्टै सुगन्ध र रौनक घोलिन्थ्यो। चङ्गा उडाउने र पिङ खेल्नेदेखि तास–जुवाको अलग्गै रौनक हुन्थ्यो।
व्यस्तताका कारण गर्न नसकेका कामहरू सम्पन्न गर्ने एउटा राम्रो अवसर यही दशैँ हुन्थ्यो। यही बिदाको मौकामा मैले पनि हिमाल, पहाड, झरना र तालतलैयाहरूका चित्रहरू बनाउँथेँ। ती चित्रहरू अहिले पनि मसँग तस्बिरका रूपमा सुरक्षित छन्। त्यसैगरी कैयौँ किताबहरू पढ्ने गर्थेँ।
यसरी पढ्दा आफूले पढेका किताबहरूमा कल्पनाशीलताको उडान यति गहिरो र रोचक हुन्थ्यो कि पढिरहँदा कहिलेकाहीँ सपना देखिरहेको छु कि जस्तो पनि लाग्थ्यो। पढ्न थालेपछि ती किताबमा यसरी डुबिन्थ्यो कि भूत–प्रेतदेखि देवीदेवताका अनि किस्सा, किन्नर-किन्नरीका चाखलाग्दा कथाहरू अघाउँदा-अघाउँदै पनि टन्नहुञ्जेल पढिन्थ्यो, पढ्नुसम्म पढिन्थ्यो। अप्सरा उर्वशीको नृत्य–रोमाञ्चदेखि फलाम फोडेर, स्फटिक तोडेर निस्किने पात्रका कथा र तिनले पाठकको मनमा पार्ने प्रभाव अत्यन्तै शक्तिशाली हुन्थ्यो।
त्यतिबेला जासुसी उपन्यासका शीर्षकहरूमै एउटा अलौकिक आकर्षण हुन्थ्यो- ‘खतरनाक ताम्रपत्र’, ‘बाह्र बजेको घण्टी’, ‘मुर्कट्टा लास’, ‘छऔँले मान्छे’, ‘भेनसका हिप्पीहरू’ आदि। शरद निरौला र दीर्घबाहुका जासुसी उपन्यासको भोक आज पनि लागिरहन्छ। तर आज जासुसी दुनियाँ त भयो, परन्तु जासुसी किताब लेखन र प्रकाशनले भने विश्राम लियो। कहिले प्रकाश कोविद त कहिले सुवास, रानु र गुलशन नन्दाका उपन्यासहरू पढ्दै रातको नीरवता बिहानीको उज्यालोमा परिणत भएको पत्तै हुँदैनथ्यो।
दन्त्यकथा र भूतप्रेतका कथाहरू पढ्दा आङै सिरिङ्ग हुन्थ्यो; राति घरको अँध्यारो कुनो वा सुनसान बाटोमा हिँड्दा कथाका ती अदृश्य पात्रहरू लुकेर बसेका छन् कि भन्ने बालसुलभ आशङ्काले मन काँप्थ्यो। लघुशङ्का गर्न बाहिर निस्किँदा पनि डरले पिसाब नै भित्रै फर्किन्थ्यो।
त्यही डरले कहिलेकाहीँ लुगाभित्रै छुलछुल पिसाब गरिन्थ्यो। तर, पढ्ने आँट मर्दैनथ्यो, बरु झन् जाग्थ्यो। अकबर–बीरबलको चातुर्य र ‘गुलबकावली’ वा ‘मैनामैनी’का काल्पनिक कथाले मनलाई आनन्दको छुट्टै आकाशमा पुर्याउँथे।

आकाशमा चङ्गा उडाउने दिनहरूको आनन्द नै बेग्लै! नीलो आकाशमा आफ्नो चङ्गा अरूको भन्दा माथि पुग्दा मन पनि त्यसैसँग उचालिन्थ्यो। डोरीको चतुरताले अर्काको चङ्गा ‘चेट’ पार्दा आफूलाई कुनै विजेताभन्दा कम लागिमैन्थ्यो। तर आफ्नै चङ्गा चेट भएर टाढा-टाढा हावामा बहँदै जाँदा भने मनको कुनै कुना खिन्न हुन्थ्यो। लिङ्गे पिङमा मच्चिँदै आकाश छुने प्रयास गर्दा जाग्ने त्यो उत्साह, अनि साथीहरूबीचको सानो होडबाजीमा लुकेको हार र जितका आफ्नै मिठास थिए।
हाम्रो घरको एउटा कुनामा सधैँजसो गुञ्जिरहने पुरानो पानासोनिक रेडियो मेरो बाल्यकालको अभिन्न साथी थियो। त्यो केवल एउटा काठ र प्लास्टिकको बाकस मात्र थिएन, बाहिरको विशाल संसारसँग जोड्ने एउटा सम्मोहन थियो।
रेडियोबाट आउने समाचार, सङ्गीत, मौसमको हाल र चाडपर्वका सूचनाहरूले घरको वातावरणलाई सधैँ जीवन्त बनाउँथे। कतिपय गाउँलेहरू रेडियो सुन्न झुरुप्प भएर बस्थे। चियाचौतारीहरूमा भेटिँदा मित्र-मिजासका हार्दिकता साटिन्थे। तर आज मानिसले मानिसलाई हेर्ने आँखा, बोल्ने बोली र गर्ने व्यवहार ठुस्स, दिक्क र हैरानको छ। जम्काभेट हुँदा पनि चिनेको-नचिनेको जस्तै गर्ने र बोल्न पनि पैसा तिर्नुपर्ला जस्तो आभास हुन्छ।
फेरि रेडियोकै सन्दर्भ जोडिन्छ। रेडियो नेपाल, अल इन्डिया रेडियोको नेपाली सेवा, खर्साङ रेडियो र बीबीसी नेपाली सेवा नसुन्ने गाउँले कमै हुन्थे। घरमा रेडियो नहुनेहरू रेडियो सुन्नका निम्ति रेडियो भएको घरमा टुप्लुक्क पुग्थे। मेलापात, कामधन्दामा पनि एउटा कान रेडियोकै आवाजतिर केन्द्रित हुन्थ्यो।
रेडियो नेपाल नसुन्ने श्रोता-संसार गाउँमा थिएनन्। मेरा लागि त रेडियो ज्ञानको भण्डार नै थियो। अनेक कार्यक्रमहरूमध्ये केही खास कार्यक्रम मलाई औधी प्रिय र वास्तवमा लोकप्रिय नै थिए। जस्तै- ‘बालकार्यक्रम’, ‘साहित्य-संसार’, ‘युवा-संसार’, ‘गीतिकथा’ आदि कार्यक्रमहरू।
ती सबै कार्यक्रमहरूमध्ये मेरो सबैभन्दा प्रिय थियो- रेडियो नेपालको ‘बालकार्यक्रम’। सञ्चालक वासुदेव मुनालको स्वर, कार्यक्रमको धुन र प्रेरणादायी बालगीत अद्यापि कानमा गुञ्जिरहेझैँ लाग्छ। दशैँको लामो बिदामा घर बस्दा त यी कार्यक्रम सुनेर आनन्द लिएका र त्यसबाट धेरै कुराका जानकारी हासिल गरी सकारात्मक ऊर्जा बटुलेका ती विगतका दिनहरू मेरा स्वर्णिम संसार हुन्।
बेलुका पाँच बज्नुअघि नै घर पुग्ने हतारो हुन्थ्यो। रेडियोलाई कानैनेर राखेर सुन्न बस्दाको त्यो उत्सुकता बयान गरिसाध्य छैन। हुलाकमार्फत् पठाएको आफ्नै सानो बालरचना रेडियोबाट प्रस्तोताको आवाजमा गुञ्जने त्यो क्षण मेरो बालमनका लागि जीवनकै ठूलो उत्सव हुन्थ्यो।
आफ्ना अक्षरहरू हावाको तरङ्गमा तैरिएर टाढा-टाढासम्म पुगिरहेका छन् भन्ने कल्पनाले नै मन रोमाञ्चित बन्थ्यो। आफ्नो नाम उच्चारण भएको सुन्नु र आफूले कनिकुथी लेखेका भावहरूलाई रेडियोले प्रसारण गर्नु तिनताक कम गौरव र हर्षको कुरा हुँदैनथ्यो।

यसैबीच मेरो प्यारो ‘बालकार्यक्रम’ र सञ्चालक वासुदेव मुनालज्यूसँगको सन्दर्भ सदा स्मरणीय छ। त्यससँगै ‘साहित्य–संसार’का सञ्चालक दाहाल यज्ञनिधिसँगका सम्बन्धका आत्मीय पलहरू अझ प्रेरणाका स्रोत बनेर रहेका छन्।
दशैँको बिदामा म फुर्सदलाई सदुपयोग गर्दै लेखपढ, घुमघाम र सांस्कृतिक परम्परामा रमाइरहेको हुन्थेँ। यसैबीच हुलाकबाट मेरो नाममा पत्रपत्रिका र पत्रमित्रताका पत्रहरू बराबर आइरहन्थे। कुनै दिन त हुलाकीले मेरै नामको पत्र मात्रै बोकेर ल्याउँथ्यो। ती पत्र खोलेर हेर्दाको खुसी बयान गरी साध्य छैन।
त्यसमध्ये पनि ‘बालकार्यक्रम’बाट सञ्चालक मुनाल दाजुले मेरो नाममा पठाएको पत्र खोलेर हेर्दै गर्दा म खुसीले झण्डै बेहोस भएको क्षण पनि आजैजस्तो लाग्छ। ‘कोभन्दा को कम’ शीर्षकमा ‘बालकार्यक्रम’बाट हप्तामा चार दिन विद्यालयमा अध्ययनरत बालबालिकाहरूका बालरचना प्रतिस्पर्धाका रूपमा प्रसारण हुन्थ्यो।
महिनादिनभरिमा एउटा रचनालाई उत्कृष्ट घोषणा गरी नगद पुरस्कार दिइन्थ्यो। मैले सुन्थेँ- पुरस्कार पाउने सधैँ काठमाडौँमा पढ्ने रत्नराज्य स्कुल, पद्मोदय हाइस्कुल, मार्टियर्स मेमोरियल, कान्ति-ईश्वरी, बूढानीलकण्ठ, भानु मावि, सिद्धार्थ वनस्थली आदिकै विद्यार्थी हुन्थे। यी विद्यालयका कतिपय विद्यार्थी मेरै ‘पेनफ्रेन्ड’ थिए। यसको सन्दर्भ कुनै समय लेखौँला। अहिलेलाई हुलाकीले ल्याएको पत्रको प्रभाव दशैँको सन्दर्भमा सम्झन्छु।
‘बालकार्यक्रम’ लेखिएको पत्र खोलेँ। सधैँ मैले प्रापकमा खामबाहिर ‘बालकार्यक्रम, रेडियो नेपाल’ लेखेर पठाउँथेँ। तर सो दिन प्रापकमा मेरो नाम लेखिएको देख्दा म तीनछक्क पर्दै हतार-हतार पत्र खोलेर हेरेँ। पत्रभित्र त कट्कटाउँदा पाँच रुपियाँ दरका पाँचवटा नयाँ नोट थिए। पत्र पढेँ- बाफ रे!
‘बालकार्यक्रम’को लोकप्रिय ‘कोभन्दा को कम’ कार्यक्रममा मेरो रचना उत्कृष्ट भई सोबापत मैले नगद पुरस्कार पाएको रहेछु। मेरा निम्ति यो क्षण वास्तवमा कति खुसी, कति हर्ष, कति आनन्द!! यो थियो- २०४१ सालको बडादशैँताका स्मृतिको क्यानभासमा रहेको एउटा मीठो सम्झना।
आज प्रविधिको यो भीडमा उभिएर हेर्दा ती दिनहरू धेरै टाढा छुटिसकेका छन्। तर, जब–जब दशैँको पारिलो घाम ढल्किन्छ, शारदीय आकाशले घुम्टो खोलेर सुन्दरता पस्किरहेको हुन्छ र स्मृतिको उज्यालोमा तिनै सुन्दर क्षणहरू एकपछि अर्को गर्दै उछिनापाछिन गर्दै स्मृतिको क्यानभासमा उपस्थित हुन आइपुग्छन्।
पुरानो घरको आँगन खुल्छ, अगेनाको धूवाँ उड्न थाल्छ, बलेसीबाट शीतका थोपा झर्न थाल्छन्, मझेरीबाट दशैँका मीठा पक्वान्नको सुगन्ध आउन थाल्छ र हातमा किताब बोकेर पानासोनिक रेडियोको मधुर स्वरमा हराइरहेको एउटा सानो बालरूप मेरो आँखाअगाडि साक्षात उभिन पुग्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment