चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

डिसी नेपाल
१ कार्तिक २०८३ १७:२४
4
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने पार्टी बनाउने प्रतिबद्धता जनाएका छन्।

सभापतिको शपथग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीको नेतृत्वमा रहँदा जादु वा चमत्कार गर्ने दाबी नगर्ने, बरु इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने बताए।

‘म जादु गर्छु, चमत्कार गर्छु भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन आफ्नो कर्म गर्छु,’ उनले भने।

थापाले आफ्नो पहिलो प्रतिबद्धता लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायप्रति रहेको स्पष्ट पारे। आगामी दिनमा नेपाली कांग्रेसले सरकार, सत्ता र राजनीतिक सहकार्यभन्दा लोकतन्त्र, नागरिकको सम्मान तथा सामाजिक न्यायलाई प्राथमिकता दिने उनको भनाइ थियो।

‘नेपाली कांग्रेसको आगामी यात्रा लोकतन्त्र, गरिमा र सामाजिक न्यायका आधारमा अघि बढ्नेछ। कुनै पनि दल, संस्था, सरकार वा शक्तिसँग सहकार्य गर्ने अथवा संघर्ष गर्ने भन्ने कुरा यी मूल्यप्रतिको प्रतिबद्धताले निर्धारण गर्नेछ,’ थापाले भने।

सभापति थापाले पार्टीको सफलता निर्वाचनमा प्राप्त हुने जित, आयोजना गरिने सभा वा जुलुसको संख्याले मात्र मापन नहुने बताए। नागरिकले कांग्रेसलाई कति विश्वास गर्छन् भन्ने विषय पार्टीको सफलताको मुख्य आधार हुने उनको भनाइ थियो।

उनले कांग्रेसलाई नागरिकका समस्या र अप्ठ्यारामा भरोसा गर्न सकिने पार्टी बनाउने प्रतिबद्धता जनाए। पार्टीका आन्तरिक गतिविधिमा केन्द्रित हुने समय र ऊर्जा घटाएर नागरिकका मुद्दामा बढी ध्यान दिनुपर्ने उनले बताए।

थापाले कांग्रेसलाई वर्तमान समयको वैचारिक नेतृत्व गर्ने पार्टीका रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गरे। नेपालको राजनीतिलाई लोकप्रियतावादबाट लोकतन्त्र र देखावटी गतिविधिमा केन्द्रित राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजान आवश्यक रहेको उनको भनाइ थियो।

अर्थतन्त्रको न्यून वृद्धि, स्रोत परिचालनका चुनौती र समाजमा कायम विभेदका विषयमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता विषयको समाधान खोज्ने नेतृत्व कांग्रेसले लिनुपर्ने बताए।

कांग्रेसलाई पार्टी कार्यालय र आन्तरिक बैठकमा मात्र सीमित नराखी नागरिक, युवा, किसान तथा समुदायका बीचमा पुर्याउनुपर्ने उनले बताए।

‘नेपाली कांग्रेसको तागत पार्टीका बन्द कोठाहरूबाट आउँदैन, कांग्रेसको तागत आम नागरिकहरूको विश्वासबाट आउँछ,’ उनले भने।

उनले पार्टीका प्रत्येक सदस्यलाई कुनै न कुनै सामाजिक आन्दोलनसँग जोड्दै कांग्रेसलाई सामाजिक आन्दोलनको अगुवा शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *