मिठाईमा मुख्य सामग्री, प्रयोग अवधि र मूल्य अनिवार्य खुलाउन खाद्य विभागको निर्देशन
काठमाडौं। नेपालमा उत्पादन तथा बिक्री-वितरण हुने मिठाईको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ कडाइ गरेको छ। अबदेखि मिठाई व्यवसायीले आफ्ना बिक्रीस्थलमा मिठाईको नाम, प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।
उपभोक्ताको स्वास्थ्य सुरक्षा, खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले विभागले शुक्रबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। विभागका अनुसार मिठाई पसल, होटल तथा मिठाई भण्डारलगायतका सम्पूर्ण व्यवसायले उपभोक्ताले सजिलै देख्न र बुझ्न सक्ने गरी बिक्रीस्थलमा यी विवरण प्रदर्शन गर्नुपर्नेछ।
यस व्यवस्थाले उपभोक्तालाई आफूले खरिद गर्न लागेको मिठाईमा प्रयोग गरिएका सामग्री, उपभोग्य अवधि र मूल्यबारे स्पष्ट जानकारी मिल्ने विभागको भनाइ छ। साथै, मिठाईको गुणस्तर र मूल्य प्रणालीमा पारदर्शिता कायम भई उपभोक्ताको अधिकार संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
विभागले जारी गरेको सूचनाअनुसार यो नयाँ व्यवस्था आगामी ११ कात्तिकदेखि पूर्ण रूपमा लागू हुनेछ। तोकिएको समयसीमापछि पनि निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
यसका साथै विभागले सम्बन्धित कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको अवस्थाअनुसार स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर मात्र व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ। विशेष गरी चाडपर्वका बेला मिठाईको खपत अत्यधिक हुने भएकाले यस कदमले बजारमा गुणस्तरीय र सुरक्षित खाद्य पदार्थको पहुँच बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment