खानपानमा ध्यान नदिंदा दशैंको रमाइलो क्षणिक नहोस : डा.सुवर्ण पौडेल

डिसी नेपाल
२ कार्तिक २०८३ ९:३६
4
Shares

काठमाडौं । दशैंमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन् ।

चाडपर्वमा मासु तथा चिल्लो खानेकुराको अत्यधिक सेवन, मदिरापान, पर्याप्त पानी नपिउने र राति अबेरसम्म जाग्राम बस्ने बानीले पेट तथा मलद्वारसम्बन्धी समस्या बढाउन सक्ने उनले बताए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चाडपर्वमा मानिसको खानपान र दिनचर्या सामान्य दिनको तुलनामा फरक हुने भए पनि शरीरको प्रणाली भने परिवर्तन नहुने बताए । दशैंको रमाइलोमा मानिसले खानेकुराको मात्रा नमिलाउने, समयमा नसुत्ने र शारीरिक गतिविधिमा ध्यान नदिने गर्दा स्वास्थ्यमा समस्या देखिन सक्ने उनको भनाइ छ ।

उनले भने,‘विशेष गरेर चाडपर्वमा हर्षोल्लास हुन्छ । आहारजन्य र विहारजन्य कारण दुवै पक्षमा थोरै चुक्छौँ । शरीरको सिस्टम कहिल्यै परिवर्तन हुँदैन, चाडबाड होस् अथवा सामान्य दिन, हाम्रो शरीरको सिस्टम त्यही नै रहन्छ । तर चाडबाड मनाइरहँदा शरीरलाई लापरबाही गर्छौँ ।’

उनका अनुसार दशैंमा खानपानमा मात्रै होइन, सुत्ने समय, पानी पिउने बानी र हिँडडुलमा पनि सन्तुलन कायम गर्नुपर्छ । शरीरले सामान्य अवस्थामा जसरी काम गर्छ, चाडपर्वमा पनि त्यसको आवश्यकता उस्तै रहने भएकाले रमाइलोका नाममा दैनिक बानीमा धेरै परिवर्तन गर्नु उचित हुँदैन ।

खानपान नमिलाउँदा पाचन प्रक्रियामा असर

दशैंमा मासुका विभिन्न परिकार, सेलरोटी, चिउरा तथा अन्य चिल्लो खानेकुराको सेवन बढी हुनेगर्छ । त्यसमा पनि आफन्तको घरमा जाँदा पटक–पटक खानेकुरा खाने चलनले शरीरमा आवश्यकताभन्दा बढी आहार पुग्न सक्छ । डा. पौडेलले एकै दिनमा धेरै ठाउँमा पुगेर फरक–फरक परिकार खाँदा खानेकुराको मात्रा नियन्त्रण गर्न कठिन हुने बताए ।

सहरमा बस्ने मानिस दशैं मनाउन गाउँ जाँदा आफन्त तथा छिमेकीको घरमा पुग्ने, चिया पिउने र विभिन्न परिकारको स्वाद लिने गर्छन् । एउटा घरमा चिया पिएपछि अर्को घरमा पुगेर पुनः चिया पिउने वा एकै दिन धेरै पटक खाना तथा खाजा खाने बानीले पनि खानपान असन्तुलित हुन सक्ने उनले बताए ।

उनले आफन्तको घरमा सत्कार स्वीकार गर्दा पनि आफ्नो स्वास्थ्यअनुसार खानेकुरा छनोट गर्न सकिने बताए । एउटा घरमा मासु खाइसकेको अवस्थामा अर्को घरमा पुगेर पनि मासु खानैपर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ छ । त्यस्तो अवस्थामा फलफूल, काँक्रो, मुला वा अन्य हल्का खानेकुरा खान सकिने उनले बताए ।

नेपाली संस्कृतिमा पाहुनालाई खानेकुरा खुवाएर सत्कार गर्ने परम्परा महत्त्वपूर्ण भए पनि त्यसलाई स्वास्थ्यअनुकूल बनाउन सकिने उनले उल्लेख गरे । खानेकुरा खान मन नभएको अवस्थामा अरूको आग्रहका कारण जबर्जस्ती खानुभन्दा आफूलाई उपयुक्त हुने खानेकुरा रोज्नु राम्रो हुने उनको सुझाव छ ।

‘एक ठाउँमा मासु खानुभएको छ भने अर्को ठाउँमा जाँदा अप्ठ्यारो मान्नु पर्दैन । मैले त्यहाँ खाएर आएको छु भन्न सक्नुहुन्छ । बरु स्याउ खानुहोस,’ उनले भने ।

मासु खाँदा मात्रा र पकाउने तरिकामा ध्यान

दशैंमा मासुका परिकार प्रमुख खानाका रूपमा रहने गर्छन् । पक्कु, सेकुवा, रोस्ट, तारेको तथा भुटेको मासु धेरैले रुचाउने परिकार हुन् । तर, मासु खाने तरिका र मात्रा नमिलाउँदा पाचन प्रक्रियामा समस्या आउन सक्ने डा. पौडेलले बताए ।

उनका अनुसार मासु खानै नहुने भन्ने होइन । कति खाने, कसरी पकाउने र त्यससँग अन्य कस्ता खानेकुरा खाने भन्ने कुरामा ध्यान दिनुपर्छ । धेरै चिल्लो, तारेको वा पोलेको परिकारको सट्टा सजिलै पच्ने गरी पकाइएको मासु खानु उपयुक्त हुने उनले बताए ।

‘सेकुवाहरू अथवा पोलेर, तारेर, भुटेर खानुभन्दा पनि सजिलै पच्ने किसिमको बनाएर कुकरमा सिट्टी हानेर, झोल बढी राखेर खानुपर्छ,’ उनले भने ।

उनले मासु खाँदा मात्रा नियन्त्रण गर्न, दाल तथा सागसब्जी पनि पर्याप्त खान र शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम राख्न सुझाव दिए । मासु मात्रै बढी खाने र सागसब्जी तथा फलफूल कम खाने बानीले पाचन प्रक्रियालाई सहज हुन नदिने उनको भनाइ छ ।

दशैंमा सेलरोटी, चिउरा र मासु एकैसाथ धेरै मात्रामा खाने चलनले पनि पाचन प्रक्रियामा भार पर्न सक्ने उनले बताए । शरीरले अघिल्लो पटक खाएको खाना पचाउन नपाउँदै पुनः धेरै खानेकुरा सेवन गर्दा पेटमा असहजता देखिन सक्ने भएकाले खानाको मात्रा मिलाउनुपर्ने उनले उल्लेख गरे ।

उनका अनुसार खाना खाँदा आफ्नो शरीरको अवस्थालाई पनि बुझ्नुपर्छ । सबै मानिसको शरीरको प्रकृति र खानेकुरा पचाउने क्षमता एउटै नहुने भएकाले अरूले खाएको देखेर वा सबैले खाइरहेका छन् भन्दैमा आफूले पनि त्यति नै खानु उचित हुँदैन ।

मदिरा सेवनले थप समस्या निम्त्याउन सक्छ

दशैंमा मासुसँगै मदिरा सेवन गर्ने चलन पनि धेरै ठाउँमा छ । तर, मदिराको सेवन र असन्तुलित खानपानले स्वास्थ्यमा थप समस्या निम्त्याउन सक्ने डा. पौडेलले बताए । उनका अनुसार धेरै खानेकुरा सेवन गर्ने, मदिरा पिउने र राति अबेरसम्म जाग्राम बस्ने बानी एकैसाथ हुँदा शरीरको नियमित दिनचर्या प्रभावित हुन सक्छ ।

उनले मदिरा सेवनपछि खानपानमा झन् बढी ध्यान दिनुपर्ने बताए । चाडपर्वका बेला मदिरा सेवनका कारण पर्याप्त पानी नपिउने, समयमा नसुत्ने तथा नियमित खानपानको तालिका बिग्रिने अवस्था आउन सक्ने उनको भनाइ छ ।

डा. पौडेलले मदिरा सेवन गरेर सवारी चलाउने तथा जोखिमपूर्ण गतिविधि गर्ने बानीबाट टाढा रहन पनि आग्रह गरे । चाडपर्वमा केही समयको रमाइलोका लागि आफ्नो र अरूको जीवन जोखिममा पार्न नहुने उनले बताए ।

‘एकछिनको रमाइलोले गर्दा भोलि कुनै घटना, दुर्घटना हुन सक्छ । रक्सी नै खाएर, तास नै खेलेर, होहल्ला नै गरेर, झगडा नै गरेर मात्र रमाइलो हुँदैन,’ उनले भने ।

उनका अनुसार चाडपर्वमा रमाइलो गर्ने अन्य धेरै माध्यम छन् । परिवारसँग समय बिताउने, आफन्त भेट्ने, सांस्कृतिक गतिविधिमा सहभागी हुने तथा स्वास्थ्यलाई असर नगर्ने तरिकाले खुसी साटासाट गर्न सकिन्छ । मदिरा सेवन वा अनावश्यक होहल्लालाई मात्रै रमाइलोको माध्यम बनाउनु उचित नहुने उनले बताए ।

कब्जियत र पाइल्सको जोखिम

डा. पौडेलले खानपानमा असन्तुलन र कब्जियतलाई पाइल्सको समस्या निम्त्याउन सक्ने कारणमध्ये एकका रूपमा उल्लेख गरे । पर्याप्त पानी नपिउने, फाइबरयुक्त खानेकुरा कम खाने र दिसा कडा हुने अवस्था आउँदा मलद्वारमा दबाब पर्न सक्ने उनको भनाइ छ ।उनका अनुसार पाइल्सका विभिन्न कारण हुन्छन् । खानपान र आहारविहारमा हुने असन्तुलनबाहेक गर्भावस्था, भारी तौल उठाउने काम तथा उमेर बढ्दै जाँदा हुने शारीरिक परिवर्तनले पनि पाइल्सको जोखिम बढाउन सक्छ ।

पाइल्स भित्री र बाहिरी प्रकारका हुने उल्लेख गर्दै उनले यसको लक्षण पनि व्यक्तिअनुसार फरक पर्न सक्ने बताए । कसैलाई दिसा गर्दा रगत बग्न सक्छ भने कसैमा मलद्वार वरिपरि सुन्निने वा मासु बाहिर निस्कने समस्या देखिन सक्छ । यस्तो अवस्थामा समस्यालाई सामान्य ठानेर बेवास्ता नगरी चिकित्सकसँग परामर्श लिनुपर्ने उनले बताए ।

पर्याप्त पानी र फाइबरयुक्त खानेकुरा आवश्यक

चाडपर्वका बेला मासु र चिल्लो खानेकुरामा बढी ध्यान जाँदा सागसब्जी, फलफूल तथा पानीको सेवन कम हुने गरेको डा. पौडेलले बताए । शरीरलाई आवश्यक पर्ने पानी नपुग्दा र फाइबरयुक्त खानेकुरा कम खाँदा कब्जियतको समस्या देखिनसक्ने उनले उल्लेख गरे ।

उनले खानासँगै दाल, गेडागुडी, हरियो सागसब्जी तथा फलफूललाई पनि प्राथमिकता दिन सुझाव दिए । मासु खाने क्रममा सागसब्जी तथा अन्य पौष्टिक खानेकुरा पनि समावेश गर्नुपर्ने उनको भनाइ छ ।

‘सागसब्जीहरू, दालहरू अलि प्रशस्त मात्रामा खानुभयो भने मासु खाँदैमा बिग्रिने अवस्था रहँदैन,’ उनले भने ।

उनका अनुसार खानपानको सन्तुलन कायम गर्न धेरै कठिन उपाय अपनाउनुपर्दैन । आफन्तको घरमा जाँदा हरेक पटक मासु खानुको सट्टा कुनै ठाउँमा फलफूल, अर्को ठाउँमा हल्का खाजा र आवश्यकताअनुसार खाना खान सकिन्छ । यसले सामाजिक भेटघाटलाई निरन्तरता दिँदै खानेकुराको मात्रा मिलाउन सहयोग पुग्ने उनले बताए ।

उनले मिठो खानेकुरा धेरै खान मन लागे पनि आफ्नो शरीरले कति पचाउन सक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । शरीरलाई असहज हुने खानेकुरा कम गर्ने र आफूलाई सहज हुने खानेकुरा सन्तुलित रूपमा सेवन गर्ने बानी विकास गर्नुपर्ने उनको सुझाव छ ।

अनिद्रा र अनियमित दिनचर्याले पनि असर गर्छ

दशैंमा राति अबेरसम्म तास खेल्ने, आफन्तसँग बस्ने वा अन्य गतिविधिमा संलग्न हुने कारण निद्राको समय बिग्रिन सक्छ । डा. पौडेलले समयमा नसुत्ने र बिहान ढिलो उठ्ने बानीले दैनिक दिनचर्या प्रभावित हुने बताए ।

उनका अनुसार चाडपर्वमा मानिसले हिँडडुल र खानपान बढाएपनि त्यसअनुसार आराम तथा पानीको मात्रा मिलाउन नसक्ने अवस्था आउन सक्छ । राति अबेरसम्म जाग्राम बस्ने, धेरै खाने र बिहानको नियमित दिनचर्या छुट्ने बानीले स्वास्थ्यमा समस्या निम्त्याउन सक्ने उनको भनाइ छ ।

उनले सामान्य दिनमा जस्तै चाडपर्वमा पनि पर्याप्त निद्रा, नियमित खानपान र शारीरिक गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए । रमाइलोका लागि रातभर जाग्राम बस्ने र त्यसको असरलाई बेवास्ता गर्ने बानीबाट बच्न उनले सुझाव दिए ।

डा. पौडेलले बालबालिकाको जीवनशैलीमा आएको परिवर्तनप्रति पनि ध्यान दिनुपर्ने बताए । अहिले धेरै बालबालिका घरभित्रै मोबाइल, टेलिभिजन तथा अन्य डिजिटल माध्यममा समय बिताउने अवस्थामा रहेको उनको भनाइ छ ।

चाडपर्वका बेला बालबालिकालाई पनि आवश्यकताभन्दा बढी चिल्लो तथा गुलियो खानेकुरा खुवाउनेभन्दा सन्तुलित खानपानमा ध्यान दिनुपर्ने उनले बताए ।

उनले नियमित दिनचर्या कायम राख्ने, आवश्यकताभन्दा बढी नखाने, पर्याप्त पानी पिउने, मदिराबाट टाढा रहने, पर्याप्त निद्रा लिने र शारीरिक गतिविधिलाई निरन्तरता दिने बानी अपनाउन सुझाव दिए ।

उनले चाडपर्वमा आफ्नो स्वास्थ्यसँगै परिवार र आफन्तको सुरक्षालाई पनि महत्त्व दिनुपर्ने बताए । दशैंको रमाइलो क्षणिक हुनसक्ने भएकाले आफ्नो व्यवहारले भविष्यमा पछुताउनुपर्ने अवस्था नआओस् भन्नेतर्फ सचेत रहनुपर्ने उनको सुझाव छ ।

‘आजको दशैं हजुरको रमाइलो होला, तर आज गरेका गल्तीले गर्दा आउने दसैँहरू नरमाइलो हुन नपरोस्,’ उनले भने,‘शान्तिपूर्ण हिसाबले आफ्नो स्वास्थ्यलाई माया गर्दै चाडपर्व मनाउनुस्, जसले गर्दा यस्ता चाडपर्व सधैँ मनाउन पाइयोस्,’ उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *