सिन्धुलीमा गाडी सुनकोशीमा खस्दा ३ जनाको मृत्यु : ४ घाइते, ३ बेपत्ता
सिन्धुली । काठमाडौंबाट गन्तव्यतर्फ जाँदै गरेको गाडी सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता भएका छन्।
आइतबार बिहान साढे २ बजेतिर को. १ ज २९७६ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। दुर्घटनालगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलबाट तीन जना महिलाको शव बरामद गरेको छ। मृतक महिलाहरूको पहिचान अझै हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परेर गाडी चालक ओखलढुंगाका २९ वर्षीय आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक घाइते भएका छन्। घाइतेहरूलाई प्रहरीले तत्काल उद्धार गरी उदयपुरको घुर्मिस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचारका लागि पठाएको छ। घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको डिएसपी श्रेष्ठले बताए।
गाडी चालकको प्रारम्भिक बयानअनुसार सवारीमा सवार अन्य तीन जना अझै बेपत्ता छन्। बेपत्ता भएकाहरूको खोजीका साथै घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरीको टोली खटिएर खोजी तथा उद्धार कार्य जारी राखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment