देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको ज्यान गयो

डिसी नेपाल
१ कार्तिक २०८३ १७:४५
4
Shares

काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनाहरूमा उनीहरूको ज्यान गएको हो।

सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा परी घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पतालमा तथा अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकस्थित सडकमा लु २ ख ६९१२ नम्बरको ट्रकले को २५ प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ बबियाकी ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ।

उदयपुरको कटारी नगरपालिका-५ भोर्लेस्थित सडकमा प्र १-०५-००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठोक्किँदा सोही ठाउँका ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको ज्यान गएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ र म प्र ०२-००९ प ११५७ नम्बरका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ भने उक्त दुर्घटनामा घाइते भएका अन्य तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलमा बीआर ३८ एच ३५०४ र प्र १-०२-०४५ प ८९६६ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ।

रौतहटको मौलापुर नगरपालिका-२ मर्यादपुरमा बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा फतुवा विजयपुर नगरपालिका-२ शीतलपुरकी ७० वर्षीया सोमरियादेवी ठाकुरको ज्यान गएको छ।

रोल्पाको माडी गाउँपालिका-१ चालाङ भिरमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२-००१ ह १९४७ नम्बरको अटो दुर्घटना हुँदा त्यसमा सवार सोही गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *