फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित
म्याग्दी। म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेतको पहिरोले यातायात प्रभावित भएको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा शनिबारदेखि निरन्तर सुक्खा पहिरो खस्न थालेपछि यात्रु तथा सवारी चालक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
२०६० सालअघि नै मार्ग खुलेको २४ किलोमिटर लामो बेनी–दरवाङ सडकमा निर्माण भएदेखि नै फापरखेतको पहिरोले यातायातमा समस्या सिर्जना गर्दै आएको छ। यस सडकले मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्छ। बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि यही सडक प्रयोग गर्दै आएका छन्।
पहिरोका कारण स्थानीयवासीलाई आवतजावत गर्न, बिरामीलाई अस्पताल पुर्याउन तथा दूध, तरकारी र फलफूल बजारसम्म लैजान समस्या भएको छ। दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानीसमेत प्रभावित बनेको सवारी चालक रवीन पुनले बताए।
उनका अनुसार साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खस्दा यात्रु घाइते हुने तथा सवारीसाधनमा क्षति पुग्ने गरेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकाले यस सडकमा यात्रा गर्न असुरक्षित बनेको उनले बताए। यसअघि मुख्यतः बर्खायाममा पहिरो खस्ने गरे पनि पछिल्लो समय सुक्खा पहिरो खस्न थालेको हो। पहिरोका कारण दसैँ मनाउन जन्मथलो फर्किने यात्रुले समेत सास्ती खेप्नुपरेको छ।
जोखिमयुक्त सडकको विकल्पका रूपमा मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जा–सातबिसे हुँदै बाबियाचौर जोड्ने वैकल्पिक सडक मर्मत गरी सञ्चालनमा ल्याइएको छ। वडा सदस्य हरि गिरीका अनुसार उक्त सडकमा जिप, मिनिबस, ट्याक्टर, मोटरसाइकल र स्कुटर सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ। तर, घुमाउरो, कच्ची र साँघुरो सडक भएकाले एकतर्फी आवागमनमा सर्वसाधारणलाई असहज हुनुका साथै जोखिमसमेत रहेको छ।
फापरखेतको पहिरोले यातायातमा मात्र नभई विकास निर्माणका काममा पनि असर पारेको छ। म्याग्दी नदीमा निर्माणाधीन चार जलविद्युत् आयोजना तथा डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारण लाइन निर्माणसहित सडक, भवन, खानेपानी र सिँचाइका आयोजनासमेत प्रभावित भएका छन्। सडकको तल्लो भागमा म्याग्दी नदी र माथिल्लो भागमा ठूलो पहिरो रहेकाले जोखिम थप बढेको छ।
बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काका अनुसार यस वर्ष नयाँ ठाउँमा जमिन चिरा परेर सुक्खा पहिरो खस्न थालेको छ। यसअघि तत्कालीन जिल्ला विकास समितिले सडकको तल्लो भागमा पक्की पर्खाल निर्माण गरी म्याग्दी नदीको कटान रोक्ने प्रयास गरेको थियो। तर, सडकमाथिको पहिरो नियन्त्रणका लागि गरिएका प्रयास सफल हुन सकेका छैनन्। पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउँदै आएको छ।
पहिरोको दीर्घकालीन विकल्पका रूपमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी म्याग्दी नदीमाथि सडक पुल निर्माण गर्ने योजना अघि बढाइएको छ। म्याग्दी क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले गत आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, प्राविधिक समस्या देखिएपछि उक्त योजना कार्यान्वयन हुन सकेन।
यस वर्ष भने करिब १० करोड रुपैयाँ लागतमा पक्की सडक पुल निर्माण गर्ने लक्ष्यसहित प्रदेश सरकारले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जुग्जालीका अनुसार योजना कार्यान्वयनको प्रक्रियामा रहेको छ। तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहेका उनले प्रस्ताव गरेपछि प्रदेश मन्त्रिपरिषद्ले तीन वर्षअघि संघीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय गरेको थियो। तर, राजनीतिक अस्थिरताका कारण उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन।
पहिरो नियन्त्रण तत्काल सम्भव नभए वैकल्पिक सडक र डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्नुपर्ने जुग्जालीको भनाइ छ।
यता, म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले चालु आर्थिक वर्षभित्रै फापरखेतको पहिरो नियन्त्रण गर्ने घोषणा गरेका छन्। केही दिनअघि म्याग्दीका विपद् प्रभावित क्षेत्रको निरीक्षणका क्रममा सरोकारवालासँग भएको छलफलमा उनले संघीय सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको चार करोड रुपैयाँ बजेटबाट एक वर्षभित्र पहिरो नियन्त्रण गर्ने प्रतिबद्धता दोहोर्याएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment