शान्वी मण्डलले थाइल्यान्डमा जितिन् ‘मिस वेलनेस वल्र्ड २०२६’ को उपाधि, मिथिलावासीमा छायाे खुसियाली
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोइलकी शान्वी मण्डलले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र मिथिलाको नाम उच्च राख्दै ठुलो सफलता हासिल गरेकी छिन्।
थाइल्यान्डको राजधानी ब्याङ्ककमा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वल्र्ड २०२६’ को उपाधि चुम्न सफल भएपछि अहिले उनको चर्चा विश्वभर फैलिनुका साथै सम्पूर्ण मिथिलावासीमा चरम खुसियाली र हर्षोल्लास छाएको छ।
देशका अन्य विभिन्न क्षेत्रमा नेपालीहरूले आफ्नो प्रतिभाले विश्वसामू देशको पहिचान चिनारहेका बेला शान्वीले यो विशिष्ट उपाधि जितेर नेपाल र नेपालीको शानलाई अझ बढी उचाइमा पुर्याएकी हुन्। उनले प्राप्त गरेको यस ऐतिहासिक सफलताले जनकपुरधामवासी मात्र नभई सिङ्गो मिथिलाञ्चललाई नै गर्वको अनुभूति गराएको छ।
जनकपुरधामकी छोरीले अन्तर्राष्ट्रियस्तरमा मिथिलाको नाम चम्काएकोमा खुसी व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का स्थानीय बासिन्दा एवं वरिष्ठ पत्रकार श्यामसुन्दर शशि यसले शान्वीमाथि थप जिम्मेवारी र दायित्व पनि बोकाएको बताएका छन्।
“हाम्रो समाजमा अझै पनि यहाँका चेलीबेटीहरू उच्च शिक्षा आर्जन गर्नुहुँदैन र यदि पढेभइहाले पनि उनीहरूले केवल डाक्टर वा इन्जिनियर मात्र बन्नुपर्छ भन्ने खालको सङ्कुचित धारणा विद्यमान छ। समाजको यही परम्परागत दृष्टिकोणलाई चिर्दै एक बिलकुलै फरक तथा चुनौतीपूर्ण विधामा शान्वी विश्व विजेता बन्न सफल हुनु हामी समस्त मिथिलावासीका लागि अत्यन्त गौरबको विषय हो,” पत्रकार शशिले गर्वका साथ बताए।
एक साधारण मध्यमवर्गीय परिवारमा जन्मिएर हुर्किएकी शान्वीले यो बिल्कुलै नौलो क्षेत्रमा यति ठुलो अन्तर्राष्ट्रिय उपाधि पाउनु कुनै क्रान्तिभन्दा कम नभएको उनको बुझाइ छ। उनले अभिभावकहरूले आफ्ना सन्तानलाई सही शिक्षा र स्वतन्त्रता दिन सकेको खण्डमा यसै समाजबाट शान्वीजस्ता थुप्रै प्रतिभावान छोरीहरूले विश्वमञ्चमा पुगेर मिथिला र नेपालकै नाम उज्ज्वल बनाउन सक्ने दृढ विश्वास व्यक्त गरे।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की स्थानीय बासिन्दा नितु कुमारी कर्णले पनि यस सफलताप्रति खुसी व्यक्त गर्दै भनिन्, “मिथिलाकी नारीले अन्तर्राष्ट्रिय स्तरमा यस्तो प्रतिष्ठित उपाधि जित्नुले हामी सम्पूर्ण मिथिलावासीको शिर उच्च बनाएको छ।”
नेपाली समाजमा अझै पनि महिला वा छोरी मान्छेहरूको मनभित्र अनेकौँ सीमा र डरको भावना कायम रहेको यस समयमा शान्वीको यो विजयले समाजका सम्पूर्ण छोरीहरूका लागि एक उच्च प्रेरणाको स्रोत बनेको कर्णको भनाइ छ। यसले मिथिलाकी नारीहरू जुनसुकै क्षेत्रमा पनि पछि नपरी अगाडि बढ्न सक्छन् भन्ने सशक्त सन्देश सम्पूर्ण संसारलाई दिएको उनले प्रष्ट्याइन्।
त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ का सुरजप्रसाद साहका अनुसार शान्वीको यो भव्य जितले उनलाई आगामी दिनमा अझ ठुलो दायित्व सुम्पेको छ।
साहका अनुसार अब शान्वीले विश्वस्तरमा आफ्ना कला-कौशलमार्फत केवल आफ्नै पहिचान मात्र होइन, समग्र मिथिलाको प्राचीन परम्परा र संस्कृतिलाई पनि विश्वसामू उजागर गर्नुपर्नेछ र यस क्षेत्रका उदाउँदो छोरी–चेलीहरूका लागि मार्गदर्शन बन्नुपर्नेछ। शान्वीले हासिल गरेको यो सफलताले एउटा सामान्य गाउँको परिवेशबाट निस्किएकी छोरीले पनि आफ्नो असीम मेहनत र क्षमताले विश्वस्तरमा छुट्टै पहिचान बनाउन सक्षम हुन्छिन् भन्ने गतिलो पाठ सिकाइएको उनी बताउँछन्।
शान्वी मण्डलले हासिल गरेको यस गौरवपूर्ण सफलतामा उनलाई हार्दिक बधाई तथा शुभकामना दिनका लागि मधेस प्रदेशका सभामुख रामअशिष यादवदेखि लिएर विभिन्न राजनीतिक दलका माननीय सांसदहरू, स्थानीय तहका मेयर, उपमेयर तथा थुप्रै विशिष्ट व्यक्तित्वहरू अहिले उनको निवासस्थानमै पुगेर खुसी साटासाट गरिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment