रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा
धनकुटा। नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा दसैँको रौनक छाएको छ। बजारमा किनमेल गर्ने, नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, घरआँगन सफा गर्ने र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले दसैँलाई उल्लासमय बनाउने गर्छ। कुनै समय दसैँको आगमनसँगै गाउँघरमा रातो माटो, कमेरो र खोटोको खोजी पनि उत्तिकै चल्थ्यो।
घरका भित्ता रातो माटो र कमेरोले पोत्ने, झ्याल ढोकामा खोटो लगाउने र घरलाई चिटिक्क पार्ने चलन दसैँको तयारीकै अभिन्न हिस्सा थियो तर समयसँगै घर निर्माणको शैली फेरिएको छ। सिमेन्ट र आधुनिक रङको प्रयोग बढ्दै जाँदा परम्परागत रूपमा घर पोत्ने चलन भने क्रमशः हराउँदै गएको छ।
कुनै समय दसैँ आउनुअघि धनकुटाका गाउँबस्तीमा रातो माटो र कमेरो खोज्ने चटारो हुन्थ्यो। घर पोत्न मिल्ने चिम्टिया माटो र रातो माटो पाइने ठाउँमा सर्वसाधारणको बाक्लो उपस्थिति देखिन्थ्यो। घरका भित्ता सफा गरेर माटोले पोत्ने, आवश्यक ठाउँमा कमेरो लगाउने र झ्यालढोका खोटोले रङ्गाउने काम घरपरिवारका सदस्य मिलेर गर्थे। दसैँको स्वागत गर्न घरलाई नयाँ रूप दिने यो परम्पराले घरको सरसफाइ र सौन्दर्यसँगै चाडपर्वको उत्साह पनि बढाउँथ्यो।
केही वर्षअघिसम्म दसैँ आउन लाग्दा घर पोत्ने माटो लिन जानेहरूको चहलपहल निकै हुने गरेको धनकुटा नगरपालिका–२ का हरिबहादुर बस्नेतले बताए। चिम्टिया माटो र रातो माटो पाइने ठाउँमा सर्वसाधारणको भीड लाग्ने गरेको सम्झना ताजै रहेको उनको भनाइ छ। माटोले लिपपोत गरेपछि घर सफा, सुन्दर र चिटिक्क देखिने गरेको उनले बताए तर अहिले त्यस्तो दृश्य कमै देख्न पाइन्छ। गाउँघरमा समेत सिमेन्टको प्रयोग बढेको छ। परम्परागत ढुङ्गा, माटो र काठ प्रयोग गरेर बनाइने घरको ठाउँमा पक्की घर बन्न थालेका छन्। घरको बाहिरी तथा भित्री भित्तामा सिमेन्टको प्लास्टर गरेर विभिन्न प्रकारका आधुनिक रङ लगाउने चलन बढेको छ। यससँगै रातो माटो, कमेरो र खोटोको प्रयोग पनि घट्दै गएको उनले बताए।
घरको बनावट परिवर्तन हुनु मात्र नभई मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोतको चलनलाई प्रभावित बनाएको छ। पहिले घर पोत्ने कामलाई दसैँको तयारीकै रूपमा लिइन्थ्यो। घरका भित्ता पोत्ने, आँगन सफा गर्ने र झ्यालढोका चिटिक्क पार्ने काममा परिवारका सदस्य जुट्थे। अहिले भने बजारमा पाइने रङ र अन्य निर्माण सामग्रीको प्रयोगबाट छोटो समयमा घर सजाउने प्रवृत्ति बढेको छ। यसले परम्परागत सीप र त्यससँग जोडिएको सामूहिक अभ्यासलाई क्रमशः विस्थापित गर्दै लगेको छ।
परम्परागत नेपाली घरको सौन्दर्यमा रातो माटो र कमेरोको विशेष स्थान थियो। माटोले बनेका घरका भित्ता पोत्दा घर सफा र आकर्षक देखिन्थे। रातो माटोले भित्तामा राताम्मेपन ल्याउँथ्यो भने कमेरोले सेतो रङ प्रदान गथ्र्यो। घरको बनावट र परिवारको रुचिअनुसार यी सामग्री प्रयोग गरिन्थे। यी सामग्री प्रयोग गर्नुको उद्देश्य घर सजाउनु मात्र थिएन, घरलाई व्यवस्थित र सफा राख्नु पनि थियो। दसैँअघि घरको सरसफाइ गर्ने र भित्तामा नयाँ लिपपोत गर्ने चलनले चाडपर्वका लागि घरलाई तयार पार्ने काम गर्थ्यो। घर पोत्ने काममा परिवारका सदस्यसँगै छिमेकी र आफन्तको सहयोगसमेत लिने चलन कतिपय ठाउँमा थियो। यसरी एउटा घरको लिपपोतसँगै सामाजिक सम्बन्ध र आपसी सहयोगको अभ्यास पनि जोडिएको हुन्थ्यो।
परम्परागत घर निर्माणमा स्थानीय स्तरमै उपलब्ध हुने माटो, ढुङ्गा, काठ र अन्य सामग्रीको प्रयोग गरिन्थ्यो। घरको निर्माण शैलीअनुसार लिपपोतका सामग्री छनोट गरिन्थे। स्थानीय स्रोतसाधनको उपयोग गरेर घरलाई सुन्दर बनाउने यो अभ्यास पुस्तौँदेखि चल्दै आएको थियो तर आधुनिक निर्माण सामग्रीको सहज उपलब्धता र पक्की घरप्रतिको आकर्षण बढेसँगै यस्तो अभ्यासको निरन्तरता कमजोर बन्दै गएको छ।
रातो माटो र कमेरोले भित्ता पोत्ने चलनसँगै काठका झ्याल ढोकामा खोटो लगाउने परम्परा पनि उत्तिकै महत्वपूर्ण थियो। विशेषगरी सालको रुखको छिप्पिएको लोप्रा ताछेर पानीमा पकाई कालो रङको खोटो तयार पार्ने गरिन्थ्यो। यसरी तयार पारिएको खोटो काठका झ्याल ढोका र आवश्यक भागमा लगाउने चलन थियो। धनकुटा नगरपालिका–२ का मोहन थापाका अनुसार सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाएपछि धमिराले काठ खानबाट जोगिने र धुल्याहा नलाग्ने विश्वास गरिन्थ्यो। यसले झ्याल ढोकालाई कालो रङ दिनुका साथै काठको संरक्षणमा समेत सहयोग गर्ने उनको भनाइ छ।
अहिले भने काठमा लगाउने आधुनिक रङ, वार्निस तथा अन्य रासायनिक पदार्थको प्रयोग बढेको छ। घरको बनावट र प्रयोग गरिने सामग्रीमा आएको परिवर्तनसँगै परम्परागत रूपमा खोटो तयार पार्ने र लगाउने सीप पनि हराउँदै गएको छ। पहिले घरपरिवारकै ज्ञान र अनुभवका आधारमा तयार पारिने यस्ता सामग्री अहिलेको पुस्ताका लागि अपरिचित बन्दै गएका छन्। खोटो बनाउने प्रक्रियामा स्थानीय वन स्रोतको पहिचान, काठका विभिन्न भागको उपयोग र परम्परागत अनुभव जोडिएको थियो। सालको लोप्रा ताछ्ने, त्यसलाई पकाउने र प्रयोगयोग्य बनाउने ज्ञान पुस्तान्तरण हुँदै आएको थियो। अहिले यसको प्रयोग घट्दै जाँदा यस्तो सीपको संरक्षण नै हुन सकेको छैन।
दसैँसँग जोडिएको संस्कार र सामूहिक अभ्यास
दसैँ नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। यस अवसरमा घर सफा गर्ने, लिपपोत गर्ने, घरआँगन सजाउने र आफन्तसँग भेटघाट गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा घर पोत्ने काम दसैँको आगमनसँग जोडिएको सांस्कृतिक अभ्यासका रूपमा स्थापित थियो।
घरको लिपपोत गर्दा भित्तामा नयाँ रङ थपिने मात्र होइन, घरमा चाडपर्व आएको अनुभूति पनि हुन्थ्यो। घरका सदस्य मिलेर काम गर्ने, आवश्यक माटो खोज्न जाने र सामग्री तयार पार्ने प्रक्रियाले दसैँको तयारीलाई सामूहिक गतिविधिका रूपमा अघि बढाउँथ्यो। घर पोतिसकेपछि सफा र चिटिक्क देखिएको घरमा दसैँ मनाउने उत्साह अझ बढ्ने गरेको पुरानो पुस्ताको अनुभव छ। धनकुटाका ७१ वर्षीय मोहन थापाका अनुसार विगतमा रातो माटो, खोटो र कमेरोले घरको लिपपोत गर्नु दसैँतिहारसँग जोडिएको संस्कृतिको अर्को पाटोजस्तै बनेको थियो। तर, आधुनिकतासँगै पुराना प्रचलन हराउँदै जाँदा अहिलेको पुस्तालाई यस्ता परम्परा र सामग्रीका विषयमा जानकारीसमेत कम हुँदै गएको उनको भनाइ छ।
आधुनिकतासँगै बदलियो घरको स्वरूप
समय परिवर्तनसँगै मानिसको बसोबास गर्ने शैली र घर निर्माणका सामग्रीमा पनि परिवर्तन आएको छ। पहिले ढुङ्गा, माटो र काठबाट घर बनाउने चलन बढी थियो। यस्ता घरको भित्ता पोत्न रातो माटो र कमेरो प्रयोग गरिन्थ्यो भने काठका झ्याल ढोकामा खोटो लगाइन्थ्यो। स्थानीय स्तरमा उपलब्ध सामग्री प्रयोग गर्दा घरको निर्माण र मर्मतसम्भारमा समुदायको परम्परागत ज्ञानको उपयोग हुन्थ्यो। अहिले सिमेन्ट, इँटा, रड र अन्य आधुनिक निर्माण सामग्रीको प्रयोग बढेको छ। पक्की घर निर्माण गर्ने क्रमसँगै घरको बाहिरी तथा भित्री भागमा आधुनिक रङ लगाउने चलन व्यापक बनेको छ। बजारमा विभिन्न रङ र सजावटका सामग्री सहजै उपलब्ध हुन थालेपछि माटो र कमेरो खोज्नुपर्ने आवश्यकता पनि धेरै परिवारमा घटेको छ।
आधुनिक निर्माण सामग्रीको प्रयोगले घरलाई टिकाउ र व्यवस्थित बनाउने अवसर दिएको भए पनि पुराना सीप र स्थानीय सामग्रीको उपयोगसम्बन्धी ज्ञान भने संरक्षणको चुनौतीमा परेको छ। नयाँ पुस्ताले आधुनिक घर निर्माणको शैलीसँग परिचित हुँदै जाँदा पुर्खाले प्रयोग गर्ने माटो, कमेरो र खोटोका विशेषता बुझ्ने अवसर कम पाउन थालेका छन्।
No ads found for this position




Facebook Comment