११७ वर्षको उमेरमा पनि जीवनप्रति उत्तिकै उत्साह: अल्बानियाकी कामिल मार्राको कथा

डिसी नेपाल
४ कार्तिक २०८३ १०:४०
4
Shares

कुओभा (अल्बानिया)। अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्। तर उनलाई विश्व कीर्तिमानभन्दा पनि जीवनको सहज आनन्द र परिवारसँग बिताउने समय बढी प्रिय लाग्छ।

उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा उनी बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनेछिन्। क्याटरहमलाई हाल गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ।

दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ओटोमन साम्राज्यको अन्त्यदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका धेरै ऐतिहासिक परिवर्तनहरू देखेकी छन्।

राजधानी तिरानाबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उनी फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गर्थिन्। “जीवन सुन्दर छ, माउन्ट टोमोरजस्तै फुलेको छ,” उनले मुस्कुराउँदै भनिन्। भगवान्ले जति समय बाँच्न लेखेका छन्, मानिस त्यतिन्जेल बाँच्ने उनको विश्वास छ।

उनको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन्। ती सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ। उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औँल्याएको थियो।

मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार, आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उनी जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकिदिएका थिए। त्यसपछि साक्षीको बयानसहित आवश्यक प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो। यसै महिनाको सुरुमा सरकारले उनको उमेरलाई आधिकारिक मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ।

मार्रा अझै पनि बिहानै उठेर आँगन सफा गर्छिन्, फूलमा पानी हाल्छिन् र कफी पिउनुअघि कुखुरालाई दाना दिन्छिन्। छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्छिन् र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्छिन्। छोराका अनुसार उनको स्वास्थ्य स्थिति निकै राम्रो छ र उनले अहिलेसम्म कहिल्यै औषधि सेवन गरेकी छैनन्।

श्रीमान्को निधन भएको ३६ वर्ष बितिसक्दा पनि उनी सँगै बिताएका पुराना दिनहरू सम्झेर मुस्कुराउँछिन्। परिवारले मिलाइदिएको विवाह निकै मायालु रहेको उल्लेख गर्दै उनले भनिन्, “नत्र म उहाँसँग सात सन्तान कसरी जन्माउन सक्थेँ र ?”

मार्राले आफ्नो परिवारका पाँच पुस्ता हुर्किएको देखेकी छन्। पुराना आफन्त र साथीभाइ गुमाउँदाको पीडा सम्झँदा उनी भावुक बन्छिन्, तर परिवारका नयाँ सदस्यहरू घर आउँदा निकै खुसी हुन्छिन्। “मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु,” उनले भनिन्। युवावस्थाको सम्झनाका रूपमा उनीसँग सेतो पछ्यौरा लगाएको आफ्नै एक तस्बिर छ, जुन तस्बिर झन्डै एक शताब्दी पुरानो हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *