गाई-भैँसीपालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने
काठमाडौं। इन्जिनियरिङ पेसासँगै कृषि व्यवसायमा लागेका गोरखाका इन्जिनियर कुमार लामिछाने गाई तथा भैँसीपालनबाट मासिक १५ लाख रूपैयाँ बचत गर्न सफल भएका छन्।
काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेले मेहनत र लगनशीलताका साथ व्यवसाय अघि बढाइरहेका छन्।
गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा ‘क्षितिज एकीकृत कृषि फार्म प्रालि’ स्थापना गरी गाई तथा भैँसीपालन शुरू गरेका हुन्। उनका अनुसार व्यवसायमा हालसम्म करिब १० करोड रूपैयाँ लगानी भइसकेको छ।
लामिछानेले मासिक एक लाख रूपैयाँ भाडा तिर्ने गरी ६ रोपनी जग्गा लिएर फार्म सञ्चालन गर्दै आएका छन्। शुरूमा ३० वटा भैँसीबाट व्यवसाय शुरू गरेका उनको फार्ममा अहिले २०० वटा गाई र ५० वटा भैँसी छन्।
‘इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें। सात वर्षदेखि जीवनसाथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा इन्जिनियरिङ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गर्दै आएको छु’, उनले भने, ‘यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै भइरहेको छ।’
फार्मबाट अहिले दैनिक करिब एक हजार २०० लिटर दूध उत्पादन हुने गरेको छ। उत्पादित दूधमध्ये केही दूध दुग्ध विकास संस्थान (डीडीसी) र नमूना डेरीमा तथा बाँकी उपत्यकाका विभिन्न डेरीमा बिक्री हुने गरेको लामिछानेले जानकारी दिए।
उनका अनुसार हाल भैँसीको दूध प्रतिलिटर १७० रूपैयाँ र गाईको दूध प्रतिलिटर १०० रूपैयाँमा बिक्री भइरहेको छ। दूध दुहुनका लागि फार्ममा मेसिनसमेत जडान गरिएको छ।
फार्ममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ५० जना कर्मचारी कार्यरत छन्। दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रूपैयाँसम्म आम्दानी हुने गरेको लामिछानेले बताए। विभिन्न खर्च कटाएर मासिक करिब १५ लाख रूपैयाँ बचत हुने उनको भनाइ छ।
गाई तथा भैँसीका लागि आवश्यक पराल र दानामा बढी खर्च हुने गरेको उनले बताए। इन्जिनियरिङ पेसासँगै व्यावसायिक कृषि कर्मलाई अघि बढाउँदै आएका लामिछानेले पशुपालनबाट रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषितर्फ आकर्षण बढाउन सकिने उदाहरण प्रस्तुत गरेका छन्। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment