उपत्यकाका सडकमा सवारी चाप बढ्दै

डिसी नेपाल
४ कार्तिक २०८३ १९:१५
16
Shares

काठमाडौं। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ।

बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन्। सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ।

अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदी बताउँछन्।

“टीकाका दिन आज आफन्तकामा आउने-जाने मानिसको सङ्ख्या उल्लेख्य रुपमा बढ्दा गत दुई-तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन बाक्लो देखिएको छ”, उनले भने।

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्धरुपमा ट्राफिक प्रहरी परिचालन गरिएको उनको भनाइ छ । ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी र ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेका छन्।

दसैँ मनाउन गाउँघर पुगेको सर्वसाधारण आफ्नो पेसा व्यवसायका सिलसिलामा पुनः काठमाडौं फर्कने क्रम पनि आजैदेखि सुरु भएको छ।

नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारी सधानको यान्त्रिक परीक्षण, तीव्र गति, चालकले मादक पदार्थ र लागु औषध सेवन गरे, नगरेको परीक्षणलगायतलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।

ट्राफिक प्रहरीको सक्रियताका कारण सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको उनको भनाइ छ।

अब दसैँ मानेर काठमाडाँै फर्कने यात्रुको चाप बढ्ने हुँदा प्रमुख नाका र राजमार्गमा सोही अनुसारको व्यवस्थापन गरिने प्रहरीले जनाएको छ । दसैँका अवसरमा काठमाडौं उपत्यकाबाट करिब दश लाख नागरिक बाहिरिएको सुरक्षा निकायको अनुमान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *