बिर्तामोडको बडी ग्यारेजमा आगलागी : तीन लाखको क्षति
झापा। झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीबाट भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन् भने एक जनाको जलेर मृत्यु भएको छ।
बिहीबार बिहान करिब ४ः१० बजे भएको आगलागीमा परी क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार, बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको थियो। ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित क्यान्टिनमा आगलागी हुँदा गौरीगञ्ज गाउँपालिका–२ निवासी तामाङको ज्यान गएको हो।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment