नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

डिसी नेपाल
५ कार्तिक २०८३ २०:४४
648
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको शोक वक्तव्यमा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य समेत रहनुभएका गौतमको निधनले पार्टीलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

गौतमलाई सङ्घर्षशील, सादगी, सरल, इमानदार र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध नेताका रूपमा स्मरण गर्दै अध्यक्ष ओलीले उहाँको निधनबाट पार्टीले एक निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रका सच्चा जनसेवक गुमाएको उल्लेख गरेका छन्।

विसं २००२ मा गुल्मीको थोर्गामा जन्मनुभएका गौतमले विसं २०२३ मा बनारसमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालबाट पार्टी सदस्यता प्राप्त गरी राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो। उहाँले बाँके र नेपालगञ्जलाई आफ्नो कर्मथलो बनाएर कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

भूमिगत कालमा भेरी–कर्णाली क्षेत्रको सचिव, बाँके जिल्ला कमिटी सचिव तथा भेरी अञ्चल कमिटी सदस्य एवं कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नुभएका गौतम बाँके क्षेत्रको कम्युनिष्ट आन्दोलनका अग्रणी नेताका रूपमा परिचित थिए।

पुष्पलालले पार्टी पुनर्गठन गरेपछिको समयदेखि नेकपा (मनमोहन समूह), नेकपा (माक्र्सवादी) हुँदै पार्टी एकीकरणपछि उहाँ आजीवन एमालेमा आबद्ध रहनुभएको थियो। विसं २०७४ को निर्वाचनमा उहाँ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *