ललितपुरमा मानमानेश्वरी भवानीको ऐतिहासिक पायो जात्रा सम्पन्न

डिसी नेपाल
८ कार्तिक २०८३ ६:४६
4
Shares

ललितपुर। ललितपुरको पाटनमा परम्परागत रूपमा मनाइँदै आएको मानमानेश्वरी भवानीको पायो (खड्ग) जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराअनुसार सम्पन्न भएको छ।

हरेक वर्ष बडादशैँको फूलपातीका दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट निकालेर पाटन दरबार क्षेत्रको मूलचोकमा विराजमान गराएसँगै यो जात्रा सुरु हुने गर्छ। मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार फूलपातीमा सुरु भएको जात्रा त्रयोदशीका दिन भवानीलाई पुनः मूलचोकबाट मुछेँ आगम घरमा विराजमान गराएर समापन गरिएको हो।

अध्यक्ष श्रेष्ठले मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजाअर्चना गरिँदै आइएको जानकारी दिए। जात्राका क्रममा देवगण र गुठियारहरूले परम्परागत पोसाक तथा मुकुण्डो लगाएर, हातहातमा खड्ग (तरवार) बोकी बाजागाजाका साथ नगर परिक्रमा गर्ने गर्छन्।

लिच्छवि, मल्ल र शाहकालीन संस्कृति बोकेको यो जात्रा पाटनको सबैभन्दा पुरानो परम्परागत उत्सवमध्ये एक मानिन्छ। यसअघि नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा सञ्चालन गरिएको थियो भने विजयादशमीको साँझ मूलचोकबाट मंगलबजार चौबाटोमा श्री भवानी र श्री नवदुर्गाबीच पावन मिलन गराइएको थियो।

जात्राको समापन अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पायो जात्रा केवल पर्व मात्र नभई पुर्खाको विरासत र नगरको मूल पहिचान भएको बताए। उनले भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने यस्ता अमूल्य सांस्कृतिक सम्पत्ति र जात्रा पर्वहरू आर्थिक अभावका कारण रोकिन नदिने प्रतिबद्धता जनाए।

आगामी वर्षहरूमा जात्रालाई अझ सहज र व्यवस्थित बनाउन सरोकारवालाहरूको सुझावअनुसार महानगरपालिकाले हरतरहको सहयोग उपलब्ध गराउने उनले उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *