कांग्रेस नेता बिष्ट भन्छन्- निर्वाचनको हार-जितले जनताप्रतिको उत्तरदायित्व सकिँदैन, म तपाईंहरूकै साथमा छु

डिसी नेपाल
१० कार्तिक २०८३ २१:४३
4
Shares

धनगढी । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गोरखबहादुर बिष्ट (आनन्द)ले निर्वाचनको नतिजा वा पदमा रहनु र नरहनुले जनताप्रतिको सेवाभावलाई कुनै असर नपार्ने बताएका छन्। निर्वाचनमा प्राप्त हुने जित वा हार प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै उनले आफू सधैँ जनताको सुख-दुःखमा साथै रहने प्रतिबद्धता जनाएका छन्।

कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने नेपाली कांग्रेस चुरे गाउँपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाले बडादसैँ तथा दीपावलीको अवसरमा आयोजना गरेको छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बिष्टले सो कुरा बताएका हुन्। गत प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धा गरी उपविजेता बनेका बिष्ट यतिबेला स्थानीय तहमा जनताको घरदैलोमा निरन्तर सक्रिय रहँदै आएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले जनतासँगको सम्बन्ध र जिम्मेवारी निर्वाचनको गणितीय हिसाबकिताबमा मात्र सीमित नरहने स्पष्ट पारे। नागरिकको अपेक्षा अनुसार निरन्तर क्रियाशील रहनु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले संगठनलाई चुस्त र दुरुस्त गतिमा अगाडि बढाउन नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

भेटघाटका क्रममा उनले फागुन २१ को निर्वाचन र क्षेत्रीय निर्वाचनदेखि नै कैलाली क्षेत्र नम्बर ४ कांग्रेस एकतावद्ध र व्यवस्थित भएकोमा खुसी व्यक्त गरे। कांग्रेसको गुमेको साखलाई सशक्त रूपमा पुनःस्थापित गर्न यस्ता भेटघाट र गतिविधिले ठूलो ऊर्जा थपेको बताउँदै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए। साथै, पार्टीको साख जोगाउन नेता-कार्यकर्तामा गाम्भीर्यता हुनुपर्ने र संगठनलाई सुदृढ बनाउन वडास्तरमै नेताहरू खटिनुपर्नेमा उनले जोड दिए।

आगामी निर्वाचनमा उम्मेदवार चयन गर्दा स्थानीय नेता-कार्यकर्ताको चाहना र भावना अनुसार जनतामा भिजेको व्यक्तिलाई टिकट दिनुपर्ने धारणा समेत उनले राखे। जनताको माझमा लोकप्रिय र भिजेको व्यक्तिले टिकट पाउँदा विजय सहज हुने र त्यसले जनताको पक्षमा काम गर्न मद्दत पुग्ने भएकाले सबैलाई आ-आफ्नो ठाउँबाट सक्रिय रहन उनको आग्रह छ।

सामान्यतया निर्वाचन जितेपछि जनप्रतिनिधिहरू गाउँ-घरमा नफर्कने गुनासो व्याप्त रहेका बेला चुनावमा पराजित भएर पनि नेता बिष्ट जनताका सुख-दुःख सुन्न घरदैलोमा पुगेपछि स्थानीय बासिन्दा हर्षित बनेका छन्। आपतविपत र अप्ठ्यारो परिस्थितिमा जनताको साथमा उभिने उनको सक्रियताले स्थानीय स्तरमा ठूलो आशा र भरोसा जगाएको स्थानीयको भनाइ छ।

चुरे गाउँपालिकाका सभापति खगेन्द्र खडायत, गौरीगंगा नगरसभापति हृदय थापा काजी र गोदावरी नगरसभापति रविन्द्र शाही ‘गुड्डु’को सभापतित्वमा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा क्षेत्रीय सभापति सुरत कार्की, पूर्व राष्ट्रिय सभा सदस्य हिरादत्त भट्ट र पूर्व क्षेत्रीय सभापति बसन्त रोकाया ‘ललित’ लगायतले आफ्ना धारणा राखेका थिए। उक्त शुभकामना आदानप्रदान कार्यक्रममा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, नगर कार्यसमिति तथा वडा कार्यसमितिका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *