नेपालका जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशययुक्त जलविद्युत् आयोजनाको विकास, लगानी अभिवृद्धि, प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ‘ट्रेड सो’मा सहभागी हुन क्यानडा पुगेका अध्यक्ष डाँगीले सम्मेलनलाई सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन्।
क्यानडासँग बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार विकासको समृद्ध अनुभव रहेकाले नेपालका लागि त्यो उपयोगी हुने डाँगीले बताए।
नेपालमा जलविद्युत्को अपार सम्भावना रहेको उल्लेख गर्दै उनले नेपाल र क्यानडाबीच सुरक्षित, दिगो तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने आयोजना निर्माणमा दीर्घकालीन र पारस्परिक लाभदायक साझेदारीको ठूलो अवसर रहेको धारणा राखे।
नेपालमा निजी क्षेत्रको सहभागितापछि विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भई हाल कुल जडित क्षमता करिब ४.३ गिगावाट पुगेको छ, जसमध्ये ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको छ।
अध्ययनहरूका अनुसार नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना रहेको बताउँदै उनले रन अफ रिभर, पिकिङ रन अफ रिभर, जलाशययुक्त तथा पम्प्ड स्टोरेज आयोजनाहरूमार्फत नेपाल दक्षिण एसियाको स्वच्छ ऊर्जा केन्द्र बन्न सक्ने स्पष्ट पारे।
नेपाल सरकारले सन् २०३५ सम्ममा विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्याउने र १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य राखेको डाँगीले जानकारी दिए। उक्त लक्ष्य हासिल गर्न थप २४ हजार मेगावाटभन्दा बढी विद्युत् क्षमता विकास गर्नुपर्ने भएकाले निजी तथा अन्तर्राष्ट्रिय लगानी अनिवार्य हुने उनको भनाइ थियो।
अध्यक्ष डाँगीले नेपालका प्रमुख जलासययुक्त तथा ठूला आयोजनाहरू जस्तै तमोर (७६२ मेगावाट), दूधकोशी (६७० मेगावाट), बूढीगण्डकी (१२०० मेगावाट) र माथिल्लो अरुण (१०६० मेगावाट) मा लगानी, वित्तीय व्यवस्थापन, इन्जिनियरिङ, बाँध सुरक्षा र आधुनिक प्रविधिका लागि अन्तर्राष्ट्रिय साझेदारीको खाँचो औँल्याए। हाल नेपालको ९८ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत्को पहुँच पुगिसकेको र यसले समग्र आर्थिक वृद्धि तथा स्वच्छ ऊर्जा व्यापारमा ठूलो योगदान पुर्याइरहेको उनले बताए।
‘टाइड्स अफ चेन्ज’ मूल विषयमा आयोजित उक्त सम्मेलन ज्ञान, अनुभव र प्रविधि आदानप्रदानका लागि महत्त्वपूर्ण रहेको भन्दै उनले अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता र प्राविधिक विज्ञहरूलाई नेपालसँग सहकार्य गर्न आग्रह गरे।
कार्यक्रममा इप्पानका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना र भोटेकोशी बाढीबाट प्राप्त पाठबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment