नेपालको जलवायु कार्यसूची र विपद्का मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने विषयमा छलफल

डिसी नेपाल
११ कार्तिक २०८३ १९:२४
4
Shares

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तथा संयुक्त राष्ट्रसङ्घीय निकायसँग सहकार्य बढाउने विषयमा छलफल भएको छ।

बैठकमा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथा : माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी दिँदै आगामी अक्टोबर २९ मा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा उक्त एजेन्डा सार्वजनिक गरिने बताएकी छन्।

त्यस्तै, कोप–३१ मा नेपालको जलवायुजन्य विपद्का अनुभव, प्रभाव र चुनौती अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न विशेष प्रदर्शनीस्थल स्थापना गर्ने तयारीबारे छलफल भएको छ। उक्त प्रदर्शनीस्थल सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसङ्घीय निकायको सहयोग अपेक्षा गरिएको मन्त्री चौधरीले बताएकी छन्।

बैठकमा भोटेकोशी बाढीलगायत जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउन सरकारी निकायको प्रतिनिधित्व र सहयोग आवश्यक रहेकोमा जोड दिइएको थियो। साथै, कोप–३१ मा युवा पुस्ता, विशेषगरी जेन्जी युवा र सञ्चारकर्मीको सहभागिता सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको छ।

जलवायु परिवर्तनका असर न्यूनीकरण तथा नेपालको अनुभव र चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय र नागरिक समाजबीच सहकार्य सुदृढ बनाउने विषयमा समेत बैठकमा जोड दिइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *